काठमाण्डु – सुनसरी लगायतका क्षेत्रमा भएका हिंसात्मक घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहले दु:ख व्यक्त गरेका छन् ।
निर्मल निवासस्थित संवाद सचिवालयमार्फत बिहीबार जारी गरिएको सद्भाव सन्देशमा सबै नेपालीलाई संयम रहन र आपसी सद्भाव कायम राख्न आग्रह गरेका छन् ।
सुनसरीमा भएको आपसी द्वन्द्वका कारण जनधनको क्षति भएको र त्यसको असर कोशी क्षेत्र तथा तराईका विभिन्न भागमा फैलिन गएकोमा उनले चिन्ता व्यक्त गरे ।
नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता भएको देश भएको र यही विविधता नै देशको गौरव तथा पहिचान भएकाले यसमा कसैले पनि खलल पार्न नहुने उनको सन्देशमा छ ।
नेपाली समाज सधैं आपसी मेलमिलाप र सद्भावमा बस्दै आएको उल्लेख गर्दै, देशको मौलिक मान्यताविपरीत यस्ता अवाच्छित घटनाहरू हुनु चिन्ताको विषय भएको सन्देशमा उल्लेख छ ।
सन्देशमा भनिएको छ, ‘यो हाम्रो मौलिक मुल्य र मान्यता विपरितको विषय हो । त्यसैले जुनसुकै भूभागमा रहे बसेका जो कोही पनि हामी नेपाली मिलौं । हाम्रो यही आग्रह छ । यही आजको आवश्यकता हो ।’




प्रतिक्रिया