‘मुलुकमा भविष्य निर्माणको भरोसा रहेन, अब राजतन्त्र पुनःस्थापना हुनुपर्छ’


प्यारा नेपाली दिदीबहिनी तथा दाजुभाइ !

समाजमा सत्य स्थापित गर्ने सद्भाव जागृत गर्ने, दानवी तात्पर्यको नास गर्ने दसैँ पर्वको गहन आदर्श हो । हाम्रो संस्कार र व्यवहारमा दसैँ मनाउँदा विद्यमान पद्धति जीवन प्रकृतिको गहिरो दृष्टि हेर्दै जानुपर्छ । शान्ति होस्, सदाचार रहोस् र आपसी सद्भाव बढोस् । दसैं पर्वको यही आशय हो । त्यसैले यस पावन अवसरमा देशभित्र र बाहिर रहेरबसेका सबै नेपालीहरूलाई हामी मंगलमय शुभकामना व्यक्त गर्दै हामीलाई लागेको छ– कुनै पनि देशभक्त नेपालीलाई यो समय सजिलोसँग बितिरहेको छ जस्तो लाग्दैन ।

बहुदलीय संसदीय प्रणालीमा जनताको आशा, आकांक्षाअनुरूप संगठित राजनीतिक दलहरू हुन्छन्। विभिन्न तहका प्रतिनिधिमा स्वस्थ प्रतिस्पर्धाबाट प्रतिनिधित्व हुन्छ । र, तिनबाट जनमनोभावनाको परिपोषित परिपाटी रहन्छ । तर आस्था, सिद्धान्त र जनविश्वासका दृष्टिले ती कति निष्ठावान् र जनउत्तरदायी रहे भन्ने आजकाल जल्दोबल्दो प्रश्न बनेको छ ।

पदलोभ, सत्ता स्वार्थ र भागबन्डा गरेर आफ्नै सुविधा भोगेका लागि राजनीति केन्द्रित हुँदै गएपछि देशको स्थिति र जनताको हालत के हुन्छ ? कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका सबै अंगभित्र उत्पन्न विवाद, विग्रह र विकृति आजको स्थितिले सर्वत्र प्रश्न उठेको छ । यो अवस्थाले जनतामा उत्साह छैन । मुलुकमा भविष्यप्रति र भविष्य निर्माणको कुनै भरोसा छैन ।

दायित्व के, गर्ने के, गर्न नहुने के न्यायिक मूल्य के हो, के होइन, यो सबै कुराको निराकरण कसले गर्ने, कोबाट हुने, देश र जनतासामु खट्किएको ज्वलन्त प्रश्न यही हो। देशका प्रति वफादारी र जनताप्रति उत्तरदायी भएर काम गर्ने विधि, व्यवस्था संगठन एवं प्रतिनिधित्वको सही पात्र देशले खोजिरहेको छ । प्रयोग र अभ्यासबाट नै देशलाई बचाउने र बनाउँदै जाने हो ।

देशका मौलिक मूल्य र सही विकल्पतर्फ हाम्रो मनोभाव बढ्दो रूपमा पाइन्छ । पुर्खाले आर्जेको यो स्वाधीन राष्ट्रलाई असफलतातिर धकेल्नु हुन्न भन्ने आम भावना रहेको छ । आफ्ना सनातनी, मूलभूत महिमलाई बिथोलेर, केही संरचना बदलेर, केही नामन्तर गरेर सुन्दर, नौलो नेपाल भइहाल्दो रहेनछ ।

त्यसैले बलियो मियोमा आबद्ध भएर राम्रो र दरिलो नेपाल बनाउन हामीमा दिव्य चेतना आउनु आवश्यक छ । नेपाल निरन्तर देशी, विदेशीहरूको क्रीडाभूमि भयो भन्ने जनगुनासो छ । त्यसैले स्वतन्त्र, सार्वभौम नेपाललाई आफ्नै अस्तित्वमा अड्याएर सम्मुनत, सक्षम र समृद्धिको पुनःनिर्माणमा ध्यान दिनुपर्ने देखिन्छ ।

नेपाललाई फेरि महान् बनाउनुपरेको छ । आफ्नै देशमा मौका नभएर हो कि वा नखोजेर हो, रोजगार र कमाउनु भनेर दिनहुँ हजारौंको संख्यामा नेपाली युवा युवती विदेशिइरहेका छन् । एकातिर होनहार नागरिकहरु बाहिर गएर भूभाग र हामीलाई उजाड पारिरहेका छन् भने अर्कातिर बाहिरियाहरूलाई भित्र्याउने र वास्तविक नेपालीलाई धरापमा पार्दै जाने प्रपञ्चप्रति चासो र चिन्ता बढेको छ । विश्वका दुई ठूला मुलुकका बीचमा अवस्थित हाम्रो देशको धर्म, संस्कृति र सभ्यतामाथि केही समययता घातक प्रहार हुँदै आएको छ ।

विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लगाउने अवस्था बनेको छ । पहिले पनि हामीले भनिसकेका छौं– हाम्रो कुनै कार्यले देश कहिले पनि हार्न हुँदैन । राष्ट्र, प्रजातन्त्र, मौलिक मान्यताहरू र नेपाली एकता रक्षाका निम्ति एकजुट हुँदै अभिभावकीय राज्य व्यवस्थाको पक्षमा समर्पित रहने देशभक्त नेपालीहरूको चोखो चाहना परिपूर्ति गर्न श्री नवदुर्गा भवानीले प्रेरणा प्रदान गरून्, जय नेपाल !

(साभार– पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमी २०७९ का अवसरमा दिएको भिडियो सन्देश)

प्रतिक्रिया दिनुहोस
Advertisement