गणेश नेपालीको मृत्युपछि सरकारलाई राप्रपाको प्रश्न – गृहमन्त्री हो कि कन्टेन्ट क्रिएटर ?

गणेश नेपालीको मृत्युपछि सरकारलाई राप्रपाको प्रश्न – गृहमन्त्री हो कि कन्टेन्ट क्रिएटर ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले राहदानी विभाग अगाडि आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा भएको मृत्युलाई लिएर सरकारलाई प्रश्न गरेका छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै शाहीले गृहमन्त्री सुधन गुरुङलाई प्रचारमुखी गतिविधिमा केन्द्रित भएको आरोप लगाउँदै समयमै प्रभावकारी उपचारको व्यवस्था गर्न नसकेको दाबी गरे।

‘तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रिएटर? साँच्चै उपचार गर्ने उद्देश्य थियो भने आज गणेश नेपालीको मृत्यु हुने थिएन,’ शाहीले भने।

उनले गृहमन्त्रीको काम सामाजिक सञ्जालका लागि सामग्री बनाउने नभई नागरिकको जीवन बचाउने भएको स्मरण गराए। समयमै उच्चस्तरीय उपचारको व्यवस्था गरिएको भए नेपालीको ज्यान जोगाउन सकिने उनको भनाइ थियो।

‘हामीलाई गृहमन्त्री कहाँ हिँड्नुभयो, कति युट्युब चलाउनुभयो भन्ने होइन। गृहमन्त्रीको आदेशबाट जनताको जीवन बच्यो कि बचेन भन्ने महत्वपूर्ण हो,’ उनले भने, ‘बेलामै सुविधा सम्पन्न अस्पतालमा उपचार गरिदिएको भए, एउटा विमानबाट दिल्ली पठाएको भए गणेश नेपालीको जीवन बच्न सक्थ्यो।’

शाहीले प्रेमप्रसाद आचार्यको आत्मदाह घटना स्मरण गराउँदै सरकार फेरिए पनि नागरिकको पीडा नफेरिएको टिप्पणी गरे।

‘सरकार फेरियो, कुर्सी फेरियो, तर जनताको पीडा फेरिएन। कुर्सी बदल्नु होइन, जनताको जीवन बदल्नु आवश्यक छ,’ उनले भने।

प्रधानमन्त्री बालेन्द्र शाहको गीतलाई संकेत गर्दै शाहीले सरकार गरिबका समस्याप्रति संवेदनशील हुन नसकेको आरोप लगाए।

‘गरिबको चमेली बोलिदिने कोही छैन’ भन्ने गीत गाएर हुँदैन। ठेलागाडा व्यवसायी, राइड सेयरिङ गर्ने र सडकमा व्यापार गर्ने नागरिकका लागि वैकल्पिक व्यवस्था कहाँ छ? सरकारले यसको जवाफ दिनुपर्छ,’ उनले भने।

शाहीले गणेश नेपालीको मृत्युलाई राज्यको नीतिगत असफलताको परिणामको रूपमा चित्रित गर्दै सरकारले प्रचारभन्दा नागरिकको जीवन र जीविकालाई प्राथमिकतामा राख्नुपर्ने बताए।