हचुवाको भरमा संचालन भएका नेपालगन्ज-लखनउ बस सेवा बन्द


-उदयसिंह श्रेष्ठ
नेपालगन्ज – भेरी यातायात प्रालिले हचुवाको भरमा नेपालगन्ज–लखनउ–नेपालगन्ज बस सेवामा नेपाल सरकारको अनुमति बिना नै संचालनमा ल्याइएका अवैध भारतीय नम्बर प्लेटका बस अहिले पूर्ण रुपमा ट्राफिक प्रहरीले बन्द गराएको छ ।

नेपाल–भारत मैत्रीको बसमा साइन बोर्ड लगाई संचालनमा ल्याइएका भारतीय बसलाई अहिले ट्राफिक प्रहरी निर्देशनालयका प्रमुख एवम् डिआईजी पूर्ण चन्द्र जोशीको आदेशमा नेपाल भित्रिनबाट पूर्ण रुपमा रोक लगाइएको छ ।

उनी भन्छन् –नेपालगन्ज–लखनउ–नेपालगन्ज बस सेवामा प्रयोग भएका भारतीय नम्बर प्लेटका बसहरुले नेपाल सरकारको अनुमति पाएको छैन । कुनै पनि हातलमा नेपाल सरकारले अनुमति नपाएका भारतीय बस नेपाल भित्रिन पाउँदैनन् ।’

नेपालगन्ज–लखनउ–नेपालगन्ज बस सेवामा अवैध रुपमा भारतीय बस संचालनमा आएको विषयमा विभिन्न मिडियाबाट सार्वजनिक भइसकेपछि बाँके जिल्ला ट्राफिक प्रहरी कार्यालयको ट्राफिक चोकस्थित ट्राफिक प्रहरी पोष्टले रोक्ने र छाड्ने गरेको थियो ।

समितिले भारतीय बसको हकमा यातायात विभागले रुटको लागि काउन्टर हस्ताक्षर गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सिफारिस पत्र पठाएको चिठ्ठी देखाई यही नै अनुमति हो भन्दै केही दिन नेपालगन्ज–लखनउ–नेपालगन्ज बस सेवा संचालन गरेका थिए ।

यस विषयमा यातायात विभागले रुटको लागि काउन्टर हस्ताक्षर गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र पठाउने हो । मन्त्रालयले नेपालस्थित भारतीय राजदुताबासलाई पत्र पठाउने र भारतीय राजदुताबासले भारतको दिल्लीस्थित नेपाली राजदुताबासलाई पत्र अगाडि बढाउनु पर्छ । नेपाली राजदुताबासले भारतीय बसको हकमा नेपालमा कुन यातायात प्रालिलाई टिकट काउण्टर राख्न दिने र व्यवस्थित बसपार्कको विषयमा अध्ययन र सर्वेक्षणपश्चात मात्र अनुमति दिन हो ।’

तर भेरी यातायात प्रालिसंग बसपार्क नै नभएको कारण अति नै ब्यस्त सडकमैं बस खडा गरी बस सेवा संचालन गर्दा पनि ट्राफिक नियम पालना गराउने जिम्मेवारी पाएका ट्राफिक चोकस्थित ट्राफिक प्रहरी पोष्टका ट्राफिक प्रहरी सबै मौन रहेको देखिएको छ । यही पत्रलाई प्रदेश नं. ५ ट्राफिक प्रहरी एसपी गणेश चन्दले पनि यसैलाई नेपाल सरकारको अनुमति पत्र भनी दाबी गर्दै अवैध भारतीय बस नेपाल भित्र्याउन ठुलो असफल प्रयास समेत गरेका थिए ।

यसैगरी समितिले ट्राफिक चोकस्थित ट्राफिक प्रहरी पोष्टलाई विभिन्न कागजात देखाई भारतीय नम्बर प्लेटका बसहरुलाई भित्र्याइएकोले मंगलबार ट्राफिक प्रहरी डिआईजी जोशीको आदेशानुसार बाँके जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवम् ट्राफिक प्रहरी निरिक्षक हिरेन्द्र रोकायले ट्राफिक प्रहरी पोष्टका इन्चार्ज सहायक प्रहरी निरिक्षक भिम वलीलाई अवैध भारतीय बस रोक्न कडा आदेश दिएका छन् । उनी भन्छन्–‘नेपालको अनुमति नपाएका भारतीय बसलाई नेपाल भित्रिन दिइयो भने कारवाही गर्छु ।’

प्रतिक्रिया दिनुहोस
Advertisement