हैजाबाट जोगिन व्यक्तिगत सरसफाइमा ध्यान दिन एनआरएनएको आग्रह


काठमाण्डु – गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्र्तगतको विश्व स्वास्थ्य समितिले हैजाबाट जोगिन व्यक्तिगत सरसफाइ र स्वच्छ वातावरणमा ध्यान दिन आग्रह गरेको छ । पछिल्लो केही दिनयता राजधानी काठमाडौंसहित विभिन्न ठाउँमा देखा परेको हैजा संक्रमणबारे आपत्कालिन बुलेटिन प्रकाशित गर्दै स्वास्थ्य समितिले यस्तो आग्रह गरेको हो ।

डाक्टरहरू सञ्जीव सापकोटा, सागर पौडेल, प्रभात अधिकारी, प्रकाश श्रेष्ठ र शिवप्रसाद श्रेष्ठको परामर्शमा तयार पारिएको स्वास्थ्य बुलेटिनमा हैजा अति संक्रामक झाडापखला भएको उल्लेख छ । सङ्क्रामक व्यक्तिको दिशाबाट बाहिरी वातावरण हुँदै खाना र पानीको माध्यमबाट स्वस्थ मानिसमा रोग सर्ने भन्दै चिकित्सकहरूले व्यक्तिगत सरसफाइ र स्वच्छ वातावरण राख्न सबैले काम गर्नु पर्ने औंल्याएका छन् ।

‘हैजा भिब्रियो कोलेरा प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखाला रोग हो,’ चिकित्सकहरुले भनेका छन्, ‘यो रोग सीमित व्यक्तिबाट दिसाको बाहिर वातावरणमा पुग्दछ र स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट फैलिन्छ ।’

रोग संक्रमण पछि लक्षणका रुपमा पातलो चौलानी पानी जस्तो दिसा देखिने, वाकवाकी लाग्ने र बान्ता हुने, कडा जलवियोजन हुने, पेट दुख्ने, ज्वरो आउने र असाध्यै तिर्खा लाग्ने हुने चिकित्सकहरूले बताएका छन् । आँखा गाडिनु, मुख जिब्रो, घाटी र छाला सुख्खा भए कडा जलविजोजन भएको लक्षण हुने पनि बुलेटिनमा उल्लेख छ ।

यस्तै पिसाब पहेलो हुनु र पिसाब कम मात्रामा हुनु र मुटुको धड्कन अनियन्त्रित हुनुलाई पनि कडा जल विजोजनको लक्षण मानिने उल्लेख छ । रोग संक्रमण नियन्त्रणका लागि व्यक्ति र समुदायबाटै काम गरिनु पर्ने भन्दै समितिको बुलेटिनमा वातावरणको बाहिरी सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको छ ।

शौचालयमा मात्रै दिशा पिसाब गर्न, सहरको बाहिरी फोहोर व्यवस्थापन उचित ठाउँमा गर्न, दिसा र पिसाब पछि राम्रोसँग मिचि मिचि साबुन पानीले हात धुन, खाना बनाउनु अघि साबुन पानीले हात धुन, पानी सधैँ उमालेर, क्लेरिन झोल हालेर र फिल्टर गरेर मात्रै खान पनि समितिले सुझाएको छ ।

होटलमा प्रयोग हुने पानीमा संक्रमण हुन सक्ने भन्दै त्यसको सरसफाइमा विशेष ध्यान दिन पनि समितिले आग्रह गरेको छ । बासी, काँचो, सडेगलेको तथा झिंगा भन्केको खानेकुरा नखान समितिले विशेष अनुरोध गरेको छ ।

हैंजा नियन्त्रणका लागि व्यक्तिगत प्रयासका बाबजुत खोप अर्को प्रभावकारी उपाय भएको भन्दै खोपको दुवै मात्रा सुनिश्चितताका लागि पनि चिकित्सकहरूले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement