एजेन्सी – हाइटीमा गएको ७.२ म्याग्नेट्युडको भूकम्पका कारण कम्तिमा ३०४ जनाको मृत्यु भएको छ । शनिबार बिहान आएको भूकम्पले देशको पश्चिमी क्षेत्रमा धेरै क्षति पु¥याएको थियो । यहाँ भवन, होटल, चर्चलगायत भग्नावशेषमा परिणत भएका छन् ।
प्रधानमन्त्री एरियल हेन्रीले एक महिना लामो संकट घोषणा गरेका छन् । उनले यस भूकम्पका कारण ठूलो क्षति भएको बताए ।
शनिबार सेन्ट लुइस डू सुड शहर भन्दा १२ किलोमिटर पर केन्द्रविन्दु भएर भूकम्प गएको अमेरिकी जिओलोजिकल सर्वे (युएसजिएस) ले जनाएको छ । भूकम्पको धक्का अत्यधिक जनघनत्व भएको राजधानी पोर्ट–ओ–प्रिन्समा (भूकम्पको केन्द्रविन्दुबाट १२५ किलोमिटर पर रहेको) पनि महसुस भएको थियो ।
सन् २०१० को जनवरी १२ मा हाइटीमा सात म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसबेला भूकम्पमा परेर कम्तीमा एक लाख ६० हजार मानिसको ज्यान गएको थियो । सो भूकम्पको भग्नावशेषबाट उठ्दै गरेको हाइटीमा फेरि शक्तिशाली भूकम्प गएको हो । अहिले पनि परकम्पहरु आउने क्रम जारी रहेकाले सतर्क रहन भनिएको छ ।
प्रतिक्रिया