कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका–२ मा निर्माणाधीन मुक्त हलियाका घर अज्ञात समूहले भत्काई दिएको छ । निर्माणाधीन १५ वटा घरमा तोडफोड गरी १० लाखभन्दा बढीको क्षति पु¥याइएको छ । तीमध्ये सात वटा घर पूर्णरुपमा भत्काउँदा हलिया परिवार समस्यामा परेका छन् ।
राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष सिवी लुहारका अनुसार मुक्त हलिया परिवारलाई पेयजल उपलब्ध गराउनका लागि जडान गरिएका छ वटा नल पनि चोरी भएका छन् । निर्माण हुंदै गरेका छ वटा घरका झ्यालसमेत चोरी भएको छ ।
भूमि सुधार कार्यालयले १५ परिवार मुक्त हलियालाई पुनःस्थापन गराउनका लागि प्रतिपरिवार दश धुर जग्गा र घर निर्माणका लागि दुई लाख २५ हजार उपलब्ध गराएको थियो । “कार्यालयले पुनःस्थापन गराएको जग्गामा घर निर्माण हुँदै गर्दा अज्ञात समूहले तोडफोड गरी इँट्टा, नल र झ्याल चोरी गरेर लगेको छ,” मुक्त हलिया गणेश सुनारले भने “घर निर्माण हुँदै गर्दा भत्काएर क्षति पु¥याएपछि बिचल्लीमा परेका छौँ ।” “पुनःस्थापन हुन पाउँदा निकै खुशी थियौँ,” उनले भने , “बन्दै गरेका घर भत्काएपछि घर निर्माणका लागि रकम कसरी जुटाउने भन्ने पीर थपिएको छ ।”
निर्माणाधीन घर भत्काइएपछि इलाका प्रहरी कार्यालय बेलौरीमा आज लिखित जानकारी दिइएको अध्यक्ष लुहारले बताउनुभयो । प्रहरीले घर भत्काउनेको खोजी गरी कारवाही गर्ने आश्वासन दिए पनि हालसम्म कसैलाई पनि पक्राउ नगरेको उनले बताए। अज्ञात समूहले भत्काएका घरको नगर प्रमुख पोतिला चौधरीसहितको जनप्रतिनिधि टोलीले अनुगमनसमेत गरेको छ ।
प्रतिक्रिया