महिनामा आधा सिलिन्डर ग्यास वितरण गर्ने


काठमाडौँ – नेपाल आयल निगमले तत्कालका लागि आधा सिलिन्डर ग्यास वितरणको तयारी गरेको छ । बुधबार प्रत्येक महिनामा एक परिवारलाई एक सिलिन्डर वितरण गर्ने नीति ल्याएको निगमले बिहीबार आधा सिलिन्डर वितरण गर्ने निर्णय गरेको हो ।

तर एक परिवारलाई महिनामा एउटा भरी सिलिन्डर आवश्यक पर्ने भएकाले दुईवटा आधा सिलिन्डर लिएर महिनाको १४.२ किलोग्राम ग्यास पु¥याउने निगमले जनाएको छ । कोरोना भाइरसको त्रासले एलपी ग्यासको अभाव हुन सक्ने आशङ्कामा उपभोक्ताले ग्यास सिलिन्डर मौज्दात राखेपछि वितरण प्रणालीलाई सहज बनाउन आधा सिलिन्डर वितरण गरिने भएको हो ।

घरमा एउटा सिलिन्डर प्रयोग हुने हो तर अधिकाशंले आठ-दसवटा राखेको भन्दै वितरण साइकल प्रभावित हुने भएकाले केही समयका लागि आधा सिलिन्डर वितरण गरिने निगमले जनाएको छ । हाल ३० लाख सिलिन्डर बजारमा छन् । ती सिलिन्डर मौज्दात राखिएकाले तत्काल बजारमा फर्किन नसक्ने अवस्था भएपछि मौज्दात सिलिन्डर बजारमा ल्याउनका लागि आधा पठाउन लागिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडले जानकारी दिनुभयो ।

पौडेलले भन्नुभयो, तत्कालका लागि आधा सिलिन्डर भर्न लगाउने हो, दैनिक एक लाख सिलिन्डर बजारमा जान्छन, ३० लाख सिलिन्डर बजारमा छन, उपभोक्तासँग रहेका सिलिन्डर बाहिर तत्काल आउने अवस्था छैन त्यसैले वितरण प्रणालीलाई एकपटक व्यवस्थित गर्न खोजेको हो, यसबाट ग्यास नपाउने सर्वसाधारणका लागि पनि सहज हुन्छ तर ग्यास नपाएर आधा सिलिन्डर भर्न लगाएको होइन ग्यास छ पाइन्छ ।

नेपालमा ६० लाख घरधुरी छन् जसमध्ये २० प्रतिशतले ग्यासको प्रयोग गर्दछन् । निगमको दाबी अनुसार नेपालमा १५ लाख धरधुरी ग्यास प्रयोग गर्दछन् । एक महिनामा मात्रै १५ लाख उपभोक्तालाई २४ लाख सिलिन्डर वितरण गरिएको पौडलेको भनाइ छ । भरिएको सिलिन्डर उपभोक्ताकोमा पठाएपछि खाली भएर आउन समय लाग्ने देखिएकाले हाललाई आधा सिलिन्डर पठाउन लागिएको हो ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement