काठमाण्डु- प्यालेस्टाइनी लडाकु समूह हमासले गाजामा इजरायलसँग ६० दिनको युद्धविराम प्रस्तावमा सकारात्मक प्रतिक्रिया दिएको छ ।
यसअघि अमेरिकाको पहलमा तयार गरिएको युद्धविरामको खाकामा इजरायलले सहमति जनाइसकेको थियो । यसमा हमास पनि सहमत भएपछि अब दुबै पक्ष युद्धविराम सम्झौताअघि अन्तिम र विस्तृत वार्तामा प्रवेश गर्ने अपेक्षा गरिएको छ।
दुवै पक्ष तयार भएपछि गजामा लामो समयदेखि आक्रमण रोकिने बाटो खुलेको छ। यसका लागि अमेरिकासहित मध्यपूर्वका देशहरूले लामो समयदेखि प्रयत्न गर्दै आएका थिए।
‘मध्यस्थकर्ताहरूलाई युद्धविराम सन्दर्भमा सकारात्मक प्रतिक्रिया पेस गरेका छौं। यसको ढाँचा कार्यान्वयन गर्नका लागि तत्काल वार्तामा बस्न हमास तयार छ,’ हमासले जारी गरेको वक्तव्यमा भनिएको छ।
प्रस्तावअनुसार गाजामा रहेका ५० जना इजरायली बन्धकमध्ये युद्धविराम अवधिमा १० जना जीवित र १८ जना मृत बन्धक रिहा गरिनेछ। युद्धविरामको पहिलो दिन हमासले ८ जना जीवित बन्धक रिहा गर्नेछ, जसको बदलामा अज्ञात संख्यामा प्यालेस्टिनी कैदी बन्दीहरू रिहा गरिनेछ। त्यसपछि इजरायलले गाजाको उत्तरी भागबाट आफ्नो सेना फिर्ता गर्नेछ र दुवै पक्षबीच स्थायी युद्धविरामतर्फ वार्ता सुरू हुनेछ।
बन्धकहरू रिहा गर्दा हमासले कुनै पनि सार्वजनिक समारोह वा प्रचार नगर्ने कुरा प्रस्तावमा समावेश गरिएको छ। बाँकी बन्धकलाई प्रस्तावमा उल्लेख गरिएका थप चार मितिमा क्रमैसँग रिहा गरिनेछ।
इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहूका विश्वासपात्र रोन डेर्मरले वासिङ्टनमा अमेरिकी विशेष दूत स्टिभ
विटकोफलगायत उच्च अधिकारीहरूसँग भेटघाट गरेपछि इजरायलले उक्त प्रस्तावमा मंगलबार सहमति जनाएको थियो ।
त्यसको भोलिपल्टै हमासले उक्त प्रस्ताव राष्ट्रिय परामर्शअन्तर्गत छलफलमा रहेको जनाउँदै आक्रमण अन्त्य, सेना फिर्ता र गाजावासीका लागि तत्काल राहत सुनिश्चित गर्ने सम्झौताको अपेक्षा राखेको थियो।
इजरायल र हमास अब छिट्टै सन्निकट वार्तामा प्रवेश गर्नेछन् । यो वार्तामा दुवै पक्ष एउटै भवनमा रहने तर प्रत्यक्ष भेट नगरी मध्यस्थकर्तामार्फत सन्देश आदानप्रदान गरिने बताइएको छ ।
नयाँ प्रस्तावमा ६० दिनको युद्धविरामबीच स्थायी शान्ति कायम गर्ने सन्दर्भमा छलफल र वार्ता हुने भनिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि गजामा स्थायी शान्ति कायममा जोड दिएका छन्। इसराइली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले सोमबार वाशिङ्टनको भ्रमण गर्ने तय भएको र त्यहाँ उनले ट्रम्पसँग यस विषयमा कुराकानी गर्ने छन् ।
इजरायल–इरानबीच १२ दिनसम्म चलेको युद्धबीच कतारले गजामा युद्धविरामको पहल जोडतोडले गरेको थियो।
विश्वको ध्यान इरानमा रहँदा यता इजरायली सेनाले गजामा सशक्त सैन्य कारबाही चलाएको थियो। त्यस अवधीमा मात्रै झन्डै १५०० जना प्यालेस्टिनीहरू मारिएको बताइएको छ।
युद्धविरामको सर्तहरू ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकोफले तयार गरी इजरायललाई मनाइसकेका थिए।
अब दुई पक्षबीच छिट्टै वार्ता हुने र युद्धविरामको घोषणा हुने भनिएको छ। २०२३ को अक्टोबर ७ मा इजरायलमा हमला गरी हमासले २४९ जनालाई बन्धक बनाएर गजा पुर्याएको थियो। त्यसयता पटकपटक युद्धविराम हुँदा बन्धकहरू छाडेको थियो।
हमाससँग अझै ५० जना बन्धक रहेको भनिएको छ। यद्यपि झन्डै २५ जनाको मृत्यु भइसकेको भनिएको छ।
हमासको बन्धकमा नेपालका विपिन जोशी पनि छन्।
इजराइल–हमास युद्धको २ वर्ष पुग्न लाग्दा गजामा झन्डै ५७ हजार मानिस मारिएका छन्।
प्रतिक्रिया