हमासका प्रमुख सिनवार मारिए, इजरायलमा उत्सव

हमासका प्रमुख सिनवार मारिए, इजरायलमा उत्सव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कठमाण्डु-गाजामा भएको इजरायली आक्रमणमा हमासका प्रमुख याह्या सिनवार मारिएका छन् । इजरायलले गरेको फिंगरप्रिन्ट्स् र डीएनए परीक्षणबाट सिनवार मारिएको पुष्टि भएको हो ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले बिहीबार विज्ञप्ति जारी गर्दै सिनवारलाई गाजाको दक्षिणी भागमा करिब एक वर्ष लामो खोजपछि इजरायली सेनाको आक्रमणमा मारिएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

इजरायली विदेशमन्त्री इजरायल काट्जले इजरायली सेनाको आक्रमणमा परी सिनवार मारिएको पुष्टि गरेका छन् । उनले यसलाई महत्वपूर्ण सैन्य उपलब्धिकोरुपमा समेत व्याख्या गरेका छन् ।

आईडीएफले इजरायलीमाथिको आक्रमणको मुख्य योजनाकार र धेरै इजरायलीहरूको हत्या र अपहरणको लागि जिम्मेवार रहेको जनाएको छ । सिनवारलाई गतवर्ष अक्टोबर ७ मा इजरायली भूमिभित्र भएको हमासको आक्रमणको प्रमुख योजनाकार भएको इजरायली दाबी छ । सो आक्रमणका क्रममा करिब ११३९ मानिस मारिएका थिए भने २०० भन्दा बढीलाई बन्धक बनाएर गाजातर्फ लगिएको थियो ।

सिनवार पछिल्लो दशकयता हमासको शीर्षस्थ नेतृत्वमा रहेर काम गर्दै आएका छन् । इजरायलसँगको द्वन्द्वका क्रममा गत जुलाईमा हमासका तत्कालीन प्रमुख इस्माइल हानिया मारिएपछि हमासले सिनवारलाई समूहको प्रमुख नेतामा चयन गरेको थियो । सन् २०२३ अक्टोबर ७ देखि हमास इजरायली सेनासँग लड्दै आएको छ ।

यो एक वर्षको अवधिमा हमास निकै कमजोर भइसकेको छ भने समूहका प्रमुख सिनवार समेत मारिएपछि हमासलाई झट्का लागेको छ ।

सिनवार पहिलोपटक सन् २०१३ मा हमासको पोलिटब्युरोमा निर्वाचित भएका थिए । त्यसको चार वर्षपछि उनी गाजा क्षेत्रको नेता बने । समयक्रममा हमासभित्र सिनवारको प्रभाव र कद बढ्दै जाँदा उनी हमासको प्रमुख समेत भए । त्यसयता उनी इजरायली सुरक्षा अधिकारीको निसानामा थिए ।

हमासको राजनीतिक प्रमुख भएपनि सिनवारले गाजा क्षेत्रका सुरुङबाट काम गरिरहेका थिए । सिनवार चरमपन्थी नेता मानिन्छन् । उनको त्यही स्वभावका कारण पनि गाजामा युद्धविरामका लागि भएका दर्जनौँ प्रयासहरू असफल भएको बताइन्छ । सिनवार यसअघि गाजा क्षेत्रमा हमासको राजनीतिक एकाइ प्रमुख थिए । सन् १९६२ मा जन्मेका सिनवार हमासको सुरक्षा सेवा ‘मज्द’का संस्थापक पनि थिए ।

अमेरिकाको टिप्पणी–विश्वका लागि राम्रो दिन

हमासका प्रमुख सिनवारको मृत्युपछि अमेरिकाले यो इजरायल र विश्वका लागि राम्रो दिन भएको टिप्पणी गरेको छ । अमेरिकाले यसलाई युद्धविराम गरेर नयाँ राजनीतिक सम्बन्धको सुरुवातको अवसर समेत भनेको छ ।

राष्ट्रपति जो बाइडेनले सिनवारको मृत्युको दिनलाई इजरायल, अमेरिका र विश्वका लागि राम्रो दिन भनेका छन् । अमेरिकी विदेश विभागका प्रवक्ता म्याथ्यू मिलरले सिनवारको मृत्युलाई युद्धको प्रकृति परिवर्तन गर्ने अवसर भएको बताएका छन् ।

इजरायलमा उत्सव

सिनवार मारिएपछि इजरायलमा उल्लास छाएको छ । सिनवारकै कारण विनाशकारी युद्धको सुरुवात भएको व्याख्या गर्दै इजरायलमा सिनवारको मृत्युलाई महत्वपूर्ण सैन्य उपलब्धि मानिएको छ ।

सिनवारको मृत्युमा अहिले उत्तरी इजरायलको ग्यालिल समुद्रको किनारमा स्थानीयले उत्सव मनाइरहेका छन् ।

सयौँ मानिसहरू सडकमा उत्रिएर नाचिरहेका छन् भने सडक अवरुद्ध भएका छन् । उनीहरूले विजयीभावमा झण्डा फहराएका छन् । त्यस क्षेत्रमा ठूलो स्वरमा संगीत घन्काइएको छ ।

सर्वसाधारणले सिनवारलाई एक आतंककारीकारुपमा लिएको र उनको मृत्युलाई वर्तमान युद्धको अन्त्यको सकेतका रुपमा व्याख्या गरिरहेका बीबीसीले उल्लेख गरेको छ ।