सोमालियामा भएको आतङ्ककारी हमलामा पत्रकारसहित थुप्रैको मृत्यु


एजेन्सी – दक्षिणी सोमालियाको एक होटलमा भएको हमलामा क्यानडाकी एक टेलिभिजन पत्रकारसहित कम्तीमा सातजनाको मृत्यु भएको जनाइएको छ। हमलामा बाच्न सफल भएकाका अनुसार एकजना आत्मघाती हमलाकारीले विस्फोटक पद्धार्थहरूले भरिएको एउटा कार असासे होटलमा ठोक्काएका थिए। त्यसपछि बन्दुकधारीहरूले होटलको भवनमा हमला सुरु गरे।

पत्रकार होडन नल्य र उनका श्रीमान ज्यान गुमाउनेहरूमध्ये रहेको बताइएको छ। इस्लामिक समूह अल-शबाबले हमलाको जिम्मेवारी लिएको छ। हमलाका बेला त्यहाँ उनीहरूले आसन्न क्षेत्रीय निर्वाचनबारे छलफल गरिरहेका थिए।प्रत्यक्षदर्शीहरूले विस्फोटन लगत्तै गोलीको आवाज सुनेका थिए। हमलाकारीहरू होटलभित्रै भए-नभएको अझै स्पष्ट हुन सकेको छैन।

एकजना सुरक्षा अधिकारी अब्दी धुहुलले एएफपी समाचार संस्थालाई बताए अनुसार एकजना पूर्व स्थानीय प्रशासनमन्त्री र एकजना सांसद मारिनेमध्ये छन्। स्थानीय सञ्चारमाध्यमहरू र सोमाली पत्रकार महासंघले ४३ वर्षीया नल्य र उनका श्रीमान फरिद मारिनेमध्ये रहेको जनाएका छन्। नल्यले सञ्चालन एवम् उत्पादन गर्ने एउटा अङ्ग्रेजी भाषाको कार्यक्रम ’इन्ट्रीगेसन टिभी’ले भने अझै ती समाचारहरूको पुष्टि गरेको छैन। नल्यले सोमालियाभित्रको जीवन र देशबाहिर बस्ने सोमाली समुदायबारे आफ्नो कार्यक्रमहरू केन्द्रित गर्थिन्।

उनको पछिल्लो शृङ्खला सोमालियाका प्रेरणादायी महिला उद्यमीहरू र सहरमा गर्न सकिने क्रियाकलापहरूबारे केन्द्रित थियो। उनी छ वर्षको छँदै आफ्नो परिवारसँग क्यानाडा बसाइ सरेकी थिइन्।उनी क्यानडामा सोमाली समुदायको एकजना उल्लेख्य व्यक्ति थिइन्। दुई सन्तानकी आमा उनी हालसालै सोमालिया फर्केकी थिइन्। सोमाली जर्न्लिस्ट सिन्डिकेटले जनाए अनुसार नेल्यसँगै अर्को एकजना पत्रकार मोहमद ओमार सहलसमेत किस्मायुमा मारिएका छन्। वीवीसी नेपाली

प्रतिक्रिया दिनुहोस
Advertisement