काठमाण्डु– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्को अभिलेखबाट प्रधानमन्त्रीको विवादित अभिव्यक्ति कहिले हटाउँने भनेर प्रश्न गरेका छन् ।
सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको विवादित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराएका हुन् ।
उनले भने ‘प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाइयोस् भन्ने हाम्रो माग थियो,’ ‘सभामुखज्यूले त्यो कहिले हटाउने आदेश दिनुहुन्छ होला भनेर हामी व्यग्र पर्खिरहेका छौँ।’
यस्तै उनले सुस्ता क्षेत्रमा भारतीय एसएसबी पसेको विरोधमा माइतीघरमा प्रदर्शन गरिरहेका युवाहरूलाई पक्राउ गरेर झूटा मुद्दा लगाउने प्रयास गरेको बताए ।
माइतीघर मण्डलामा शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रिएका अजय सोदारी र बिरजन बिकलाई प्रहरीले नियन्त्रणमा लिएर झुट्टा मुद्दा चलाउन खोजेको भन्दै उनले गृहमन्त्री सुधन गुरुङको ध्यानाकर्षण गराएका हुन्।
यस्तै उनले उनले विद्यार्थीहरूका मोबाइल फोन खोसेर पानीमा डुबाइए, ट्याम्पो पल्टाइदिएको, प्रहरीद्वारा घरको छानामा ढुङ्गा हानिएकालगायतको घटनामा पनि सरकारको ध्यानाकर्षण गराए।
उनले भने, ‘अचम्म लाग्छ हिजोआज प्रहरी यसरी उद्दण्ड भएको देख्दा । प्रहरी देख्ने बित्तिकै त हामीलाई शान्ति सुरक्षाको महसुस हुनुपर्छ । तर, अहिले त केही खोस्छ कि, अब के गर्छ कि भन्ने वातावरण भइराखेको छ । गृहमन्त्री पनि यहाँ हुँदा ध्यानाकर्षण गराउन चाहेँ ।‘विद्यार्थीका मोबाइल खोसेर पानीमा डुबाउने र गरिबको टेम्पो भीरबाट गुल्ट्याउने जस्ता अमानवीय कार्य गर्नेलाई कारबाही हुनुपर्छ,’ उनले भने।




प्रतिक्रिया