काठमाण्डु – धरान उपमहानगरपालिकाको स्वतन्त्र मेयर बनेपछि देशैभर चर्चित बनेका हर्कराज राई (हर्क साम्पाङ) उतिबेला प्रतिनिधिसभा बैठकमा निभाइरहेको भूमिकाका कारण चर्चामा छन् । झण्डै दुईतिहाइ बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सरकारका काम–कारवाहीमा लगातार खबरदारी गरेर हर्क चर्चामा आइरहन्छन् ।
संसद्मा प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको पुरानो संसदीय दल नेपाली कांग्रेसलाई पनि ओझेलमा पार्ने गरी हालसालै उदाएको दल श्रम संस्कृति आक्रमण देखिएको छ ।
बुधबार श्रम संस्कृति पार्टीले वेल घेराउ गरेका कारण १५ मिनेट बैठक नै स्थगित गर्नुपर्यो । सरकारका मन्त्रीहरूले प्रश्नको जवाफ नदिएको र स्पष्ट जवाफ दिनुपर्ने श्रम संस्कृतिको माग थियो । अवरोध कायमै रहेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगन गरेका थिए ।
बुधबार श्रम संस्कृतिको संसद् अवरोध नौलो घटना होइन । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएर संसद् बैठक सुरु भएयता श्रम संस्कृतिले आक्रामक रूपमा जवाफदेहिता र उत्तरदायित्व खोजिरहेको छ ।
संसद्मा श्रम संस्कृति पार्टी आक्रामक रूपमा प्रस्तुत हुने शृंखला बैशाख ३० गतेदेखि सुरु भएको थियो । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन संसद्मा उपस्थित नभएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ बैठक छाडेर हिँडेका थिए । ‘असक्षम प्रधानमन्त्री राजीनामा दे’ भन्दै नाराबाजी गरेका उनी केहीबेरपछि दिक्क मान्दै झोला बोकेर निस्किएका थिए । संसद्मा विरोधको शृंखला जारी राख्दै श्रम संस्कृति पार्टीले बैशाख ३१ गते बैठक बहिष्कार गरेको थियो ।
जेठ ६ गतेको प्रतिनिधिसभा बैठकमा समेत श्रम संस्कृति पार्टीले सुकुमबासी व्यवस्थापन, सीमानाका तथा अनेक जनजीविका विषयमा सांसदहरूले राखेका प्रश्नको जवाफ दिनुपर्ने माग गर्दै संसद्मा विरोध जनाएको थियो ।
जेठ १३ गतेको बैठकको सुरुमा श्रम संस्कृतिका अध्यक्ष राईले प्रधानमन्त्री वालेन्द्र शाहलाई बैठकमा उपस्थित हुन सभामुखबाट ‘रूलिङ’ हुनुपर्ने माग राख्दै विरोध गरे । उनले बैठक बहिष्कार गरेर हिँडेपछि संसद् बैठक सञ्चालन भयो ।
संसद् बैठकमा उपस्थित भएर प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि त्यसको विरोध सुरु भयो । यस विषयमा प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने भन्दै श्रम संस्कृति पार्टीले विरोध जनायो ।
जेठ २७ गतेको बैठक सभामुख डोलप्रसाद अर्यालले परराष्ट्रमन्त्री शिशिर खनाललाई बोल्न समय दिएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले उठेर विरोध जनाएका छन् । श्रम संस्कृतिका अध्यक्ष हर्कले प्रधानमन्त्री बालेन शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिमा परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिने सहमतिमा असहमति जनाउँदै भने, ‘एउटाले गल्ती गर्ने र अर्काेले जवाफ दिने भन्ने हुँदैन ।’
संसद्मा सरकारमाथि खबरदारी गर्ने सन्दर्भमा मात्रै होइन, राजनीतिक रूपमा पनि श्रम संस्कृति पार्टी अरुभन्दा भिन्न देखिँदै आएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोलाएको प्रतिपक्षी दलको बैठकमा श्रम संस्कृति सहभागी भएन । बैशाख ३ गते संसदीय दलका सभापतिको निर्वाचनका विषयमा छलफल गर्न कांग्रेसले बोलाएको बैठकमा सहभागी नभएर श्रम संस्कृतिले भिन्न रहेको सन्देश दिएको थियो ।
बैशाख ६ गते श्रम संस्कृति पार्टीले संसदीय भूमिकालाई सशक्त बनाउन विज्ञहरूसँग सामूहिक छलफल गरेको थियो । अध्यक्ष हर्कराजको उपस्थितिमा भएको छलफलमा देशको समसामयिक राजनीतिक, आर्थिक र सामाजिक मुद्दाहरूमा विज्ञहरूले सुझाव दिएका थिए ।
प्रतिनिधिसभा निर्वाचन २०८२ बाट पाँचौँ दलको रूपमा रहे पनि श्रम संस्कृतिको संसदीय भूमिका सक्रिय, आक्रामक र जुझारु देखिएको छ । हालसम्म श्रम संस्कृतिले संसद्मा प्रधानमन्त्रीको जवाफदेहिता, संसद्मा हुने साना दलमाथिको असमानता, सीमा समस्याका विषयमा खबरदारी गरेको छ ।




प्रतिक्रिया