काठमाण्डु– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपालले पनि भारतीय भूमि मिचेको भन्दै अभिव्यक्तिका लागि माफी माग्न सुझाव दिएका छन् ।
प्रतिनिधिसभा बैठकमा मंगलबार साम्पाङले संसदमा मात्र नभई तीन करोड नेपालीसँग माफी माग्न आग्रह गरे ।
साम्पाङले नेपालले भारतको सीमा कहाँकहाँ मिचेको रहेछ भन्ने खुलाउन सक्नुपर्ने उनको भनाइ थियो ।
‘नेपालले भारतको सीमा कहाकहाँ मिचेको रहेछ । त्यो कुरा उहाँले यहाँ आएर पुष्टि गरिनुपर्छ । सरकारलाई गल्ती गर्ने छुट हुँदैन । सरकारले गल्ती गर्न पाउँदै पाउँदैन । गल्ती गर्नु हुँदै हुँदैन’, साम्पाङले भने, ‘यदि उहाँले आवेगमा आएर बिनापुष्टिको, बिना प्रमाणको कुरा राखेको हो भने हामीलाई होइन । हर्क साम्पाङलाई होइन । यहाँका सांसदलाई होइन, तीन करोड नेपालीलाई सम्बोधन गरेर यस्तै भइहालेछ भनेर माफी माग्नुपर्छ ।’
साम्पाङले देशको सिमाना, अखण्डता र सार्वभौमसत्ता जोगाउने विषय दल विशेषको नभई राष्ट्रिय सरोकारको विषय भएको उल्लेख गरे ।
साम्पाङले प्रधानमन्त्री शाह संसदमा कतिपटक आए र कतिपटक हाजिरी गरे भन्नेबारे जानकारी गराउन सभामुखसँग माग गरे ।
संसद नियमावलीमा प्रत्येक सदस्यले बैठकमा सहभागी हुनुअघि हाजिरी गर्नुपर्ने लेखेको भन्दै हाजिरी नगरेको भए प्रधानमन्त्री शाह पदमुक्त हुने तर्क गरे ।
‘नियमावलीको नियम ४ को (१) मा के भनिएको छ भने प्रत्येक सदस्यले बैठकमा अउनुपर्नेछ र बैठकमा आउनुअघि बस्नुअघि हाजिर गर्नुपर्छ भनेको छ । म प्रधानन्त्रीज्यू यहाँ आउदाँखेरि हाजिरी गर्नुभएको छ कि छैन ? त्यो हेर्नका लागि अभिलेख शाखालाई अनुरोध गर्न चाहन्छु’, उनले भने, ‘यदि उहाँले हाजिर गर्नुभएको छैन भने उहाँ यो प्रतिनिधिसभाको सदस्य नरहेको ठहर हुन्छ । यदि उहाँ प्रतिनिधिसभाको सदस्य नरहेको ठहर हुन्छ भने संविधानको धारा ७७ को १ को (ग) ले निज प्रतिनिधिसभाको सदस्य नरहेको हकमा प्रधानमन्त्री पदबाट मुक्त हुनुपर्छ भन्ने व्यवस्था रहेको छ । उहाँको हाजिर यो अखिलेमा छ कि छैन ? उहाँ कतिचोटि आउनुभयो । अहिलेसम्मको सदनको बैठकमा कतिचोटि हाजिर गर्नुभयो त्यो पनि देखाइदिनका लागि म अनुरोध गर्न चाहन्छु ।’




प्रतिक्रिया