काठमाण्डु– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारको प्राथमिकता जनताको वास्तविक समस्याभन्दा सत्ता सञ्चालन र औपचारिकतामा केन्द्रित भएको आरोप लगाएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा उनले जनताले आधारभूत सेवा लिनसमेत संघर्ष गरिरहेको अवस्थामा सरकारका मन्त्रीहरू भने सुविधासम्पन्न कार्यालय र एसी जडित गाडीमा सीमित भएको टिप्पणी गरे ।
राईले खाना पकाउने ग्यासको अभाव, न्यायका लागि सडकमा भइरहेका आन्दोलन र भूमिहीनका समस्यालाई उदाहरण दिँदै सरकार जनताको दैनिक जीवनसँग जोडिन नसकेको बताए ।
‘मन्त्रीहरू एसीको कोठामा बसेर देश बुझिँदैन । खेतमा, कारखानामा, सडकमा र आन्दोलनरत नागरिकबीच पुगेर उनीहरूको पीडा बुझ्नुपर्छ,’ उनले भने ।
सरकारको प्राथमिकता नागरिकको सुरक्षा र न्याय सुनिश्चित गर्नु हुनुपर्नेमा देशका विभिन्न ठाउँमा धार्मिक तथा साम्प्रदायिक विवादका नाममा तनाव, आगजनी र धम्कीका घटना भइरहनु गम्भीर भएको राईले बताए ।
यस्ता घटनामा उजुरी परे पनि प्रभावकारी कारबाही नहुनु राज्यको कमजोरी भएको उनको दाबी थियो । दोषीको राजनीतिक सम्बन्ध वा पहुँच नहेरी कारबाही गर्नुपर्नेमा उनले जोड दिए ।
राईले रोजगारीको अवस्थालाई पनि सरकारको असफलताको अर्को सूचकका रूपमा प्रस्तुत गरे । ठूलो संख्यामा युवा रोजगारीका लागि विदेशिन बाध्य हुनु र वैदेशिक रोजगारीका नाममा ठगी बढ्नुले देशभित्र अवसर सिर्जना हुन नसकेको देखाउने उनको भनाइ थियो ।
भूमिहीन र सुकुमवासीको समस्या समाधानमा पनि सरकारको कार्यशैलीप्रति उनले असन्तुष्टि जनाए । वर्षौँदेखि जग्गा भोगचलन गर्दै आएका नागरिकलाई स्वामित्व दिने विषयमा जिम्मेवारी एक निकायबाट अर्को निकायमा सारेर समस्या समाधान नहुने उनले बताए ।
‘पुस्तौँदेखि जग्गा भोगचलन गर्दै आएका सुकुमवासी तथा भूमिहीन नागरिकलाई धनीपुर्जा दिने विषयमा अब नाटक होइन, परिणाम चाहिन्छ,’ उनले भने ।
प्रधानमन्त्री बालेन्द्र शाहको संसद्प्रतिको जवाफदेहितामाथि पनि राईले प्रश्न उठाए । लामो समयदेखि प्रधानमन्त्रीको संसद्मा उपस्थितिको माग हुँदै आए पनि त्यसलाई बेवास्ता गरिएको उनको आरोप थियो ।
राईले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित भएर सांसदसँग संवाद गर्न तथा जनताका समस्या प्रत्यक्ष सुन्न आग्रह गरे ।




प्रतिक्रिया