स्वास्थ्यका कर्मचारीलाई चेतावनी : ३ दिनभित्र हाजिर गराएर काज फिर्ता गर्नू, नत्र कारवाही

स्वास्थ्यका कर्मचारीलाई चेतावनी : ३ दिनभित्र हाजिर गराएर काज फिर्ता गर्नू, नत्र कारवाही

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पताल तथा मातहतका निकायमा सरुवा भए पनि हाजिर नगराइएका कर्मचारीलाई ३ दिनभित्र हाजिर नगराए कारबाही गर्ने चेतावनी दिएको छ ।

सरुवा भए पनि कर्मचारीहरूलाई हाजिर नगराइएको तथा काजमा लामो समय कार्यरत रहेको गुनासोपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले यसलाई रोक्न ३ दिनभित्र हाजिर गराउने व्यवस्था गर्न अधिकारीलाई भनेका छन् ।

लगत्तै मन्त्रालयको कर्मचारी प्रशासन शाखाले संघीय अस्पताल तथा मातहतका कार्यालयमा पत्र पठाउँदै ३ दिनभित्र कर्मचारीहरूलाई हाजिर नगराए विभागीय कारबाही तथा सेवासुविधा बापतको रकम असुलउपर गर्ने सचिवस्तरीय निर्णयको व्यहोरा सहितको पत्र पठाएको छ ।

स्वास्थ्य सेवामा आफ्नो दरबन्दीभन्दा बाहिर काजमा बस्ने प्रवृत्ति धेरै रहेको र यसकै कारण सरुवा भएकालाई समेत हाजिर गराउन नसकिएको गुनासो सुनिने गरेको थियो । सोही गुनासो सम्बोधन गर्न मन्त्रालयले कडा चेतावनी सहितको पत्र पठाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अटेर गरेमा विभागीय कारबाही गरिने बताए ।