फेरिचे हेलिकप्टर दुर्घटनाको छानबिन सुरु

फेरिचे हेलिकप्टर दुर्घटनाको छानबिन सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सोलुखुम्बुको फेरिचेमा आज भएको हेलिकप्टर दुर्घटनाका सम्बन्धमा छानबिन सुरु भएको जानकारी दिएको छ ।

क्यानले आज एक विज्ञप्ति जारी गर्दै दुर्घटनाको सम्बन्धमा छानबिन सुरु भइसकेको र त्यसबाट प्राप्त तथ्य, विश्लेषण तथा निष्कर्षका आधारमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही एवं सुधारात्मक उपायहरू अवलम्बन गरिने समेत उल्लेख गरेको छ ।

‘दुर्घटनामा परी भारतको तमिलनाडु राज्य, चेन्नई निवासी अन्दाजी ४७ वर्षीय वसन्तकुमार बलरामुडुको निधन भएको छ । दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन तथा आफन्तहरूमा प्राधिकरण हार्दिक समवेदना व्यक्त गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ । दुर्घटनामा घाइते भएका न्यूजील्याण्डका नागरिक शैलेस किसन पटेल तथा सम्बन्धित हेलिकप्टरका पाइलटहरूको शीघ्र स्वास्थ्यलाभको समेत कामना समेत गरिएको छ ।

आज बिहान ८ः१२ बजे सोलुखुम्बुको फेरिचे क्षेत्रमा अवतरण गर्ने क्रममा एयर डाइनेष्टीको नाइन एन—एओडी र फिस्टेल एयरको नाइन एन–एजेआर हेलिकप्टरहरू दुर्घटनामा परेका थिए ।

दुर्घटनामा फिस्टेल एयरको हेलिकप्टरमा सवार दुई विदेशी नागरिक सवार थिए । दुर्घटनामा परी घाइते भएकाहरूलाई थप उपचारका लागि काठमाण्डुस्थित मेडिसिटी अस्पतालमा ल्याइएको छ ।

साथै मृतक भारतीय नागरिकको शव व्यवस्थापनसम्बन्धी आवश्यक प्रक्रिया अघि बढाइएको क्यानले जानकारी दिएको छ ।