बाढी प्रभावित क्षेत्रमा नेपाल भेटेरिनरी एशोसिएसनको सहयोग

बाढी प्रभावित क्षेत्रमा नेपाल भेटेरिनरी एशोसिएसनको सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा नेपाल भेटेरिनरी एशोसिएसनले तेस्रोपटक राहत तथा पशुपन्छी स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालन गरेको छ ।

एशोसिएसनको ९ सदस्यीय टोलीले २०८३ भदौ २९ देखि ३१ गतेसम्म रसुवा, नुवाकोट र धादिङका विभिन्न बाढी प्रभावित क्षेत्रमा पुगेर मानवीय सहायता तथा पशुपन्छीका लागि औषधि, फिड सप्लिमेन्ट र आवश्यक उपकरण हस्तान्तरण गरेको हो ।

टोलीले प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गर्दै पशुधनमा भएको क्षति, उद्धार तथा उपचारको अवस्था र बाढीपछि फैलिन सक्ने संक्रामक रोगको जोखिमबारे समेत जानकारी संकलन गरेको थियो ।

एशोसिएसनका केन्द्रीय अध्यक्ष डा. केदार सुवेदीको नेतृत्वमा महासचिव डा. शंकर न्यौपाने, पूर्व अध्यक्ष डा. शीतल काजी श्रेष्ठ, सचिव डा. विशाल पोख्रेल, कोषाध्यक्ष डा. विकास श्रेष्ठ र पूर्व केन्द्रीय सदस्य डा. राकेश चन्दसहितको टोलीले रसुवाको गोसाइँकुण्ड, कालिका, उत्तरगया र नौकुण्ड, धादिङको गल्छी–देवीघाट तथा नुवाकोटको विदुर र बेलकोटगढी क्षेत्रमा स्थलगत अनुगमन तथा सहयोग गरेको थियो । कार्यक्रममा म्याजिक मार्बल फाउन्डेसन नेपालको समेत सहभागिता थियो ।

एशोसिएसनले पुन: संकलन गरेको प्रारम्भिक जानकारीअनुसार रसुवा तथा नुवाकोट क्षेत्रमा मात्रै करिब ६०० भैँसी, १० हजार सुँगुर/बंगुर तथा करिब २ लाख व्यावसायिक फार्मका कुखुरा बाढीका कारण नष्ट भएको जनाएको छ ।

बाढीका कारण पशुधनमा भएको ठूलो क्षतिले प्रभावित कृषकको जीविकोपार्जनमा समेत गम्भीर असर परेको एशोसिएसनले जनाएको छ ।

बाढीका कारण घरबारविहीन भएका एशोसिएसनका सदस्य डा. सुदिप कोइराला र डा. तुल्सिराम गम्पोका परिवारलाई एशोसिएसनका तर्फबाट प्रतिव्यक्ति १ लाख आर्थिक सहयोग प्रदान गरिएको थियो ।

सोही अवसरमा एशोसिएसनका केन्द्रीय अध्यक्ष डा. केदार सुवेदीले व्यक्तिगत तर्फबाट समेत दुवै सदस्यलाई प्रतिव्यक्ति १० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका थिए ।

बाढीले कृषकको प्रमुख आर्थिक आधारका रूपमा रहेको पशुधनमा ठूलो क्षति पुर्‍याएकाले तत्काल राहतसँगै पशुधन पुनर्स्थापना, रोग नियन्त्रण, पशु स्वास्थ्य सुरक्षा तथा जीविकोपार्जन पुन:स्थापनाका दीर्घकालीन कार्यक्रम सञ्चालन गर्न नेपाल सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरिएको एशोसिएसनका अध्यक्ष डा. केदार सुवेदीले बताए ।

उनले विपद्पछिको अवस्थामा पशुपन्छीमा रोग फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रमा नियमित स्वास्थ्य निगरानी, उपचार तथा रोग नियन्त्रणका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताए ।

एशोसिएसनले विपद्को समयमा उद्धार, उपचार तथा राहतमा खटिएका पशु चिकित्सक, पशु स्वास्थ्य प्राविधिक, स्थानीय तह, विभिन्न संघसंस्था तथा स्वयंसेवकहरूप्रति धन्यवाद व्यक्त गरेको छ ।

नेपाल भेटेरिनरी एशोसिएसनले बाढी आएको सुरुदेखि नै कान्तिपुर भेट डिष्ट्रिब्युटर्स, कान्तिपुर फार्मास्युटिकल्स, तिलिचो ट्रेडिङ, सेफ भेट फार्मा, बीएमबी भेटेरिनरी हस्पिटल तथा म्याजिक मार्बल फाउन्डेसन नेपालसँगको सहकार्यमा बाढी प्रभावित क्षेत्रमा राहत, पशु स्वास्थ्य सेवा तथा आवश्यक सामग्री सहयोग गर्दै आएको जनाएको छ ।