हेटौंडामा दुई बस ठोक्किए, एकको मृत्यु ३० घाइते


हेटौंडा – पूर्व-पश्चिम महेन्द्र राजमार्गको हेटौँडा–३, बसामाडीमा दुईवटा बस एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।

शनिबार काठमाडौँबाट जनकपुर जाँदै गरेको ना ७ ख ९३६ नं को यात्रुबाहक बस र इलामको पशुपतिनगरबाट काठमाडौँ आउँदै गरेको ना ७ ख २०५७ नं को अर्को यात्रुबाहक बस एकापसमा ठोक्किएर भएको दुर्घटनामा काठमाडौँ आउँदै गरेको बसका चालक उदयपुर वरही गाउँपालिकाका ४० वर्षीय मानबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

आफ्नै साइडबाट गइरहेको बसलाई विपरीत दिशाबाट उछिन्ने गरी आएको अर्को बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए। दुर्घटनामा गम्भीर घाइते ४० वर्षीय मगरको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको हो।

अर्का बसको चालक भने फरार रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गम्भीर घाइते तीन जनाको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। अन्य घाइतेको हेटौँडामै उपचार भइरहेको र सामान्य घाइते प्राथमिक उपचारपछि घर फर्किएको जनाइएको छ। रासस

प्रतिक्रिया दिनुहोस
Advertisement