काठमाडौं- प्रदेश ३ का भौतिक योजना तथा पूर्वाधार मन्त्री केशव स्थापितले प्रदेश ३ को राजधानी काठमाडौं आसापास नै हुने बताएका छन् ।
रामेछापको सदरमुकाम मन्थलीमा नेपाल माझी उत्थान संघ रामेछापले आयोजना गरेको लदी पूजा कार्यक्रममा बोल्दै उनले एकदेखि डेढ महिनाभित्र राजधानी हेटौंडाबाट काठमाडौं आसापास सरिसक्ने बताएका हुन् ।
उनले प्रदेश ३ को राजधानी हेटौंडा कसैलाई पायक नपर्ने भन्दै केही महिनामै आफूले राजधानी काठमाडौं आसपास सार्ने अठोट लिएको बताए ।
‘हेटौडा कसैलाई पायक पर्दैन, पायक नपर्ने ठाउँमा राजधानी राखेर हुन्छ?, उनले भने, ‘मैले अठोट गरिसकेको छु, प्रदेश ३ को राजधानी काठमाडौं आसापास हुन्छ ।’
कार्यक्रममा स्थानीयलाई सम्बोधन गर्दै स्थापितले माझी समुदायको लदी पूजालाई पर्वको रुपमा सूचिकृत गराउने प्रतिवद्धता व्यक्त्त गरे ।
उनले प्रविधिले खोसेको माझीको माछा मार्ने र डुंगा चलाउने पेसालाई अब नयाँ हिसावले अघि बढाउनु पर्ने बताउँदै माझी समुदायको पेसासँग जोडिएको शिप विकास तथा साधन र श्रोत जुटाउन प्रदेश सरकारले जति पनि खर्च गर्न सक्ने बताए।
यसैगरी प्रदेश सांसद शान्तिप्रसाद पौडेलले माझी भाषा र संस्कृतिको संरक्षणको लागि प्रदेशको कानुनमा नै समावेश गर्न आफूले प्रयास गर्ने बताए ।
हरेक वर्षको फागुन महिनाको तेस्रो मंगलबार माझी समुदायले धुमधामका साथ नदी पूजा पर्व मनाउने गर्दछन् ।
प्रतिक्रिया