जनताको जलविद्युत कार्यक्रम: पहिलो दिनमै ६ करोड संकलन


काठमाडौं– ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत पहिलो दिन आज (बिहीबार) नै ६० लाख आवेदकबाट करिब ६ करोड रुपैयाँ संकलन भएको छ । नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनामा लगानी गर्न त्रिशूली जलविद्युत कम्पनीले निष्कासन गरेको सेयरका लागि उक्त रकम संकलन भएको हो ।

बिहीबार साँझ साढे ५ बजेसम्म १२ हजार ७ सय ७३ आवेदकले ६० लाख ३१ हजार १ सय ३० कित्ता सेयर किन्न आवेदन दिएको कम्पनीका प्रबन्ध निर्देशक मोहनप्रसाद गौतमले जानकारी दिए । उनले भने ‘उक्त आवेदनबाट ६ करोड ३ लाख ११ हजार ३ सय रुपैयाँ संकलन भएको छ’।

प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले बिहीबार बिहान साढे ९ बजे बालुवाटारबाट सेयर किन्न आवेदन दिएका थिए । ‘कार्यक्रम’ अन्तर्गतको आयोजनामा लगानी गर्न गत शुक्रबार (चैत १ गते) आवेदन दिन आह्वान गरिएको थियो ।

बिहीबारबाट निष्कासन गरेको सेयर छिटोमा चैत १२ गते र ढिलोमा २०७६ बैशाख ६ गते बन्द हुनेछ । कम्पनीले सर्वसाधारणका लागि ३५ लाख ९३ हजार ८ सय ५० कित्ता सेयर निष्कासन गरेको छ । हाल यसको १० प्रतिशत अर्थात् ३ करोड ७० लाख ५० हजार रुपैयाँ (३ लाख ७० हजार ५ सय कित्ता) को लागि मात्र सेयर माग गरिएको छ ।

सय रुपैयाँ मूल्य अंकित उक्त परिमाणको सेयर किन्न हाल १० प्रतिशतले हुन आउने प्रतिसेयर १० रुपैयाँमा आवेदन दिन पाइनेछ । व्यक्तिले किन्न चाहेको बाँकी सेयरबापतको रकम कम्पनीले आयोजनाको निर्माण ५० प्रतिशत पूरा भएपछि माग गर्ने जनाएको छ ।

कम्पनीले जारी पुँजी २ अर्ब ४७ करोड रुपैयाँको १५ प्रतिशत अर्थात् ३७ करोड ५ लाख रुपैयाँको ३७ लाख ५ हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्ट्याएको छ । यसमध्ये ३ प्रतिशत सेयर (१ लाख ११ हजार १ सय ५० कित्ता) कम्पनीका कर्मचारीलाई सुरक्षित राखी बाँकी निष्कासन गरेको जनाएको छ ।

 ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले अघि बढाएको ‘कार्यक्रम’ प्रधानमन्त्री ओली र मन्त्री वर्षमान पुनले गत फागुन २ गते संयुक्तरूपमा शुभारम्भ गरेका थिए । प्रधानमन्त्री ओलीले कार्यक्रम शुभारम्भ भएको ३५औं दिनमा आफूले सेयर किन्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement