काठमाण्डु – उच्च अदालत पाटनले रातो पासपोर्ट दुरुपयोग र कीर्ते कागजसम्बन्धी मुद्दामा तत्कालीन संविधान सभाका ३ सदस्यलाई दोषी ठहर हुने जिल्ला अदालत काठमाण्डुको निर्णयलाई सदर गरेको छ ।
न्यायाधीशद्वय खड्कबहादुर केसी र गोपालप्रसाद बाँस्तोलाको संयुक्त इजलासले असार २३ गते संविधानसभा सदस्यहरू गायत्री साह, विश्वनाथप्रसाद यादव र शिवपुजन राय यादवलाई दोषी ठहर हुने जिल्लाको निर्णय सदर गरेको हो ।
उच्च अदालत पाटनका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाका अनुसार संविधान सभाका ३ सदस्यलाई जिल्लाले ठहर गरेको जनही ५ महिना कैद र ५०० जरिबाना हुने फैसला उच्च अदालतले सदर गरेको हो । जिल्ला अदालत काठमाण्डुले २०७१ जेठ २१ गते फैसला सुनाएको थियो ।
पहिलो संविधानसभा २०६४ का ३ सदस्यहरूले हैसियतले प्राप्त भएको विशिष्ट कूटनीतिक राहदानी आर्थिक लाभका निम्ति बिचौलियालाई बिक्री गरेको प्रहरीको अभियोग थियो । अदालतले सोही अभियोगमा डिलबहादुर घर्ती, गोपाल बानियाँँ, मनोजकुमार कार्की, देवेन्द्र पौडेल र सन्तोषराज उप्रेतीलाई पनि कीर्ते कागज कसुरमा दोषी ठहर गरी जनही १ वर्ष कैद र ५ लाख ५४ हजार जरिवाना हुने ठहर गरेको छ ।
नक्कली राहदानी प्रयोग गरी अस्ट्रेलिया जान खोजेका म्याग्दीका पृथ्वी छन्त्याललाई जिल्ला अदालत काठमाण्डुले १ वर्ष कैद र ५०० रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । उच्च अदालतले सोही निर्णय सदर गरेको छ ।




प्रतिक्रिया