ओली पक्षधर मन्त्रीको जिम्मेवारी खोसे मुख्यमन्त्री कार्कीले

ओली पक्षधर मन्त्रीको जिम्मेवारी खोसे मुख्यमन्त्री कार्कीले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले अध्यक्ष केपी ओली पक्षधर आन्तरिक मामिला तथा कानूनमन्त्री इन्द्रमणि पराजुलीको जिम्मेवारी खोसेका छन् ।

कार्कीले पराजुलीलाई प्रवक्ताको जिम्मेवारीबाट हटाएका हुन् ।

यसअघि सरकारको प्रवक्ताका हैसियतमा पराजुलीले मन्त्रिपरिदषद् बैठकबारे सार्वजनिक सञ्चार माध्यमलाई जानकारी दिँदै आएका थिए ।

शुक्रबार मुख्यमन्त्री कार्कीले आफ्ना विश्वासपात्र आर्थिक मामिला तथा योजनामन्त्री विदुर लिङ्थेपलाई मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न लगाए ।

श्रोतका अनुसार ओलीको निर्देशनमा आफूलाई हटाउन उद्धत भएकाले कार्कीले पराजुलीलाई मन्त्रिपरिषद निर्णय सार्वजनिक गर्न रोकेका हुन् ।

२१ फागुनको निर्वाचनमा पार्टीको लज्जास्पद हार भएको नैतिक जिम्मेवारी लिएर ओलीले नेतृत्व छाड्नुपर्ने पक्षमा कार्की थिए ।

ओलीका खास विश्वासपात्र मानिने कार्की खुलेरै उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको पार्टी पुनर्गठन अभियानमा लागेका थिए ।

आफूविरुद्ध लागेको भन्दै ओलीले कार्कीलाई हटाएर प्रदेशसभा संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने तयारी गरेका थिए ।

नेपाली कम्युनिष्ट पार्टीसँग प्रदेश सरकारहरुमा सहकार्य गर्ने सहमतिपछि ओलीले मेन्याङ्बोलाई काठमाण्डु बोलाएर मुख्यमन्त्रीको तयारी गर्न भनिसकेका थिए ।

दुई दलबीचको सहमतिमा कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने उल्लेख छ । ओलीले पद छाड्न दिएको निर्देशन कार्कीले अस्वीकार गरे ।

केही दिनअघि कार्की काठमाण्डु आएर ओलीसहित नेताहरुलाई भेटे । ओलीसँगको भेटमा आफूलाई हटाउने भए सचिवालयको निर्णय चाहिने अडान कार्कीले लिए ।

सचिवालयमा अल्पमतमा रहेका ओलीले बैठक बोलाउन आँट गरेनन् र तत्कालका लागि कार्कीलाई नै निरन्तरता दिने बताए ।

प्रदेशसभामा बहुमत सदस्यको समर्थन कार्कीकै पक्षमा रहेको देखिएपछि ओली तत्काल उनलाई हटाउने निर्णयबाट पछि हटेको बताइएको छ ।

विराटनगर फर्किएलगत्तै कार्कीले शुक्रबार मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।