भोटेकोशी त्रासपछि ४ हिमतालको पानी घटाउने तयारी

भोटेकोशी त्रासपछि ४ हिमतालको पानी घटाउने तयारी

पाँच करोड डलर खर्चेर पानीको सतह ३ मिटर घटाउने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा १ हजार ४ सयभन्दा बढी मानिसको मृत्यु भयो । अझै पनि ५ हजार २ सय ८५ जना बेपत्ता रहेको तथ्या‌‌यांक सरकारसँग रहेको छ।

लाङटाङ लिरुङ हिमालको एक भाग नै खसेपछि निम्तिएको भोटेकोशी विपद्‍बाट पाठ सिकेर सम्भावित जोखिममा रहेका हिमतालको पानी घटाउने महत्त्वाकांक्षी योजना ल्याउने तयारी सरकारले गरेको छ ।

सरकारले यसै आर्थिक वर्षमा चारवटा उच्च हिमाली हिमतालको पानी घटाउने योजना अघि बढाउन लागेको सरकारी अधिकारीहरूले बताएका छन् ।

गत भदौ १० गते हिमालको एक भाग भत्किएर गएको पहिरो र आकस्मिक बाढीले चीनसँगको सीमा जाडिएको रसुवा र नुवाकोटसहितका जिल्लामा ठूलो भानवीय र भौतिक क्षति गरेपछि सरकारले हिमतालको पानी घटाउने महत्त्वाकांक्षी योजना ल्याउन लागेको हो । भोटेकोशी बाढीमा अझै ५ हजारभन्दा बढी मानिस बेपत्ता छन् । उनीहरूको खोजी कार्य जारी छ ।

नयाँ परियोजनाको निगरानी गर्ने सरकारी अनुसन्धान केन्द्रका विज्ञ सुभास तुलाधरका अनुसार यी हिमतालका प्राकृतिक बाँध फुट्ने जोखिम घटाउँदै तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम कम गर्न खोजिएको हो। उनले पानी घटाउने परियोजना पूरा गर्न ६ वर्ष लाग्न सक्ने बताए ।

उनका अनुसार नियन्त्रित रूपमा पानी नजिकका नदीमा निकास गर्न नहर निर्माण गरिनेछ । तर उच्च हिमाली क्षेत्रमा लामो समयसम्म काम गर्नुपर्ने भएकाले अचानक बाढीको जोखिमसँगै उद्धार तथा निर्माणमा खटिने कामदारले स्वास्थ्यसम्बन्धी जोखिमसमेत सामना गर्नुपर्नेछ ।

सरकारका अनुसार मध्य तथा पूर्वी नेपालमा रहेका थुलागी, लोअर बरूण, लुम्दिङ छो र होङ्गु–२ हिमताललाई लक्षित गरी डिजाइन तथा विस्तृत अध्ययन यस आर्थिक वर्षमा सुरू हुनेछ ।

संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इकिमोड) ले सन् २०२० मा प्रकाशित गरेको प्रतिवेदनअनुसार समुद्री सतहबाट ४ हजार ५० मिटरदेखि ५ हजार ४८३ मिटर उचाइमा रहेका यी हिमताल नेपालका सम्भावित रूपमा सबैभन्दा जोखिमपूर्ण हिमतालमध्ये पर्छन् ।

नेपालसँग यस परियोजनाका लागि आवश्यक सीप र अनुभव रहेको तुलाधरले बताए । नेपाल हाइड्रोलोजी तथा जलस्रोत अनुसन्धान केन्द्रका विज्ञ तुलाधरका अनुसार करिब ५ करोड अमेरिकी डलर लागतको यो परियोजना ग्रिन क्लाइमेट फन्ड, यूएनडीपी र नेपाल सरकारको सहयोगमा सञ्चालन हुनेछ ।

केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बरालका अनुसार विस्तृत अध्ययनपछि ‘गेटेड संरचना’मार्फत हिमतालको पानी घटाउने काम सुरु हुनेछ ।

परियोजनाअन्तर्गत पानीको सतह तथा जोखिम निगरानी गर्ने सेन्सर जडान, बाढी पूर्वानुमान तथा पूर्वसूचना प्रणाली स्थापना र तल्लो तटीय क्षेत्रको प्रतिरोधात्मक क्षमता बढाउने कामसमेत गरिनेछ । जोखिमबारे स्थानीय समुदायलाई तयारी अवस्थामा राख्ने कार्यक्रम पनि परियोजनाको हिस्सा हुनेछ ।

यसअघि नेपालले सन् २००० मा मध्य हिमालयको त्सो रोल्पा हिमतालको पानीको सतह ३ मिटर घटाएको थियो । त्यस्तै, विश्वको सर्वोच्च शिखर सगरमाथा नजिकको इम्जा हिमतालको पानीको सतह पनि करिब एक दशकअघि घटाइएको थियो ।

बढ्यो तदारुकता

नेपालको पछिल्लो विपद्ले विश्वलाई चेतावनी दिएको प्रधानमन्त्री वालेन्द्र शाहले दुई साताअघि संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्दै बताएका थिए । उनले नेपालको हरितगृह ग्यास उत्सर्जन अत्यन्त न्यून भए पनि जलवायु परिवर्तनका कारण नेपालले ठूलो मूल्य चुकाइरहेको बताएका थिए ।

पछाडि हटिरहेका हिमनदी, अस्थिर हिमाली भिरालो भूभाग र झन् अनिश्चित बन्दै गएका नदीहरूले नेपालले जलवायु परिवर्तनको ठूलो मूल्य चुकाइरहेको देखाउने उनले बताएका थिए ।

नेपालमा पछिल्लो चार दशकमा करिब २६ वटा हिमताल विस्फोटजन्य बाढी (जीएलओएफ) का घटना भएका छन् । चरम जलवायुजन्य घटनाका कारण नेपालमा औसतमा हरेक वर्ष ३ सयभन्दा बढी मानिसको ज्यान जाने र लाखौँ डलर बराबरको भौतिक क्षति हुने गरेको बताइएको छ ।

पछिल्लो बाढीले दर्जनौँ जलविद्युत् आयोजना, सडक, पुल, कृषि क्षेत्र र बस्तीमा ठूलो क्षति पुर्‍याएको छ । आर्थिक रूपमा कमजोर नेपाललाई प्रारम्भिक पुनरुत्थानका लागि करिब ५ अर्ब अमेरिकी डलर आवश्यक पर्ने सरकारी अधिकारीहरूले बताएका छन् ।

जलवायु वैज्ञानिकहरूका अनुसार तापक्रम बढ्दै जाँदा हिमालयका हिमनदीहरू पग्लिँदै र पछाडि हट्दै गएका छन् । यस क्रममा ढुंगा र बरफले बनेका अस्थिर प्राकृतिक बाँधले थामेका हिमतालहरू निर्माण भइरहेका छन् ।

यस्ता हिमताल लाखौँ मानिस बसोबास गर्ने उपत्यकाभन्दा माथिल्लो क्षेत्रमा रहेका कारण तिनको जोखिम गम्भीर रहेको वैज्ञानिकहरूको भनाइ छ ।

इसिमोडका हिमनदी, हिमताल तथा हिमताल विस्फोटजन्य बाढीसम्बन्धी पूर्वविज्ञ सम्ज्वल रत्न बज्राचार्यका अनुसार हिमतालको पानीको सतह ३ मिटर घटाउँदा जोखिम उल्लेखनीय रूपमा कम गर्न सकिन्छ ।

‘यी हिमताल तीव्र गतिमा बढिरहेका छन्, हिमालयको उच्च क्षेत्रमा छन् र भूकम्प, हिमपहिरो, जलवायुजन्य अवस्था तथा अव्यवस्थित मानवीय गतिविधिका कारण जुनसुकै बेला विस्फोट हुन सक्छन्,’ उनले भने ।