काठमाण्डु – हुम्लाको नाम्खा गाउँपालिकाको तिल गाउँमा नयाँ हिमताल भेटिएको छ ।
५३५० मिटरको उचाईमा नयाँ हिमताल भेटिएको हो । हुम्लामा गत साता आएको बाढी पहिरोको अध्ययन गर्न गएको प्राविधिक टोलीले नयाँ हिमताल भेटाएका हुन् । प्राविधिक टोलीले हिमताल स्थानसम्मै पुगेर अध्ययन गरेको छ । यसअघि स्थानीय युवाहरूले दुई वटा हिमताल भेटिएको बताएकामा अध्ययन टोलीले तीन वटा भएको पुष्टि गरेको हो ।
यसअघि दुईवटा हिमताल देखिएको स्थानमा थप एउटा हिम ताल भेटिएको अध्ययन टोलीका सदस्य शिवकुमार बास्कोटाले जानकारी दिएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
अध्ययन टोलीमा प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशील कुमार श्रेष्ठ, खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिष्ट शिवकुमार बास्कोटा र जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिष्ट सौहाद्र जोशी सहभागी थिए ।
५३५० मिटर उचाइमा अर्काे ताल भेटिएको जनाए पनि सरकारी टोलीले बाढीपहिरो आउनुको निष्कर्ष भने सार्वजनिक गरेको छैन ।
जेठ १ गते राति बाढी र सुख्खा पहिरो जाँदा हुम्लाको नाम्खा गाउँपालिका–६ का १८ परिवारका ३२ जना विस्थापित भएका छन् ।
करिब ५३०० मिटरमाथिका दुई वटा हिमपोखरीबाट बगेको पानीले बाढीको रुप धारण गरेको टोलीको निष्कर्ष छ ।
यसअघि स्थानीय आफैँ पोखरीसम्म पुगेर बाढी आउनुका कारण पत्ता लगाउने प्रयास गरेका थिए । तर पोखरीको पानी कसरी बाहिर निस्कियो भन्ने वैज्ञानिक रुपमा पुष्टि हुन बाँकी छ ।
टोलीले हिमतालहरूको विषयमा अध्ययन गरिरहेको टोलीका सदस्य बास्कोटाले जानकारी दिए ।




प्रतिक्रिया