काठमाण्डु विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय सूचीमा नेपालका थप ६ हिमाललाई छुट्टै हिमालका रूपमा सूचीकृत गराउन नेपालले पहल थालेको छ ।
नेपाल पर्वतारोहण संघ (एनएमए० मार्फत विश्व पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए) को सन् २०२६ को साधारणसभामा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेल ‘गनेस’ ले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय सूचीमा नेपालका थप ६ हिमाललाई छुट्टै हिमालका रूपमा सूचीकृत गराउन प्रस्ताव गरेका हुन् ।
काठमाडौंमा शुक्रबारदेखि सुरु भएको यूआईएएको साधारणसभा शनिबार समापन हुनेछ । मन्त्री पौडेलका अनुसार नेपालले यालुङ काङ, कञ्चनजङ्घा दक्षिण, कञ्चनजङ्घा मध्य, ल्होत्से मध्य, ल्होत्से शार र यालुङ काङ पश्चिमलाई छुट्टै आठ हजार मिटरभन्दा अग्ला हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिन प्रस्ताव गरिएको छ ।
प्रस्तावित हिमालमध्ये यालुङ काङ ८ हजार ५०५ मिटर, कञ्चनजङ्घा दक्षिण ८ हजार ४७६ मिटर, कञ्चनजङ्घा मध्य ८ हजार ४७३ मिटर, ल्होत्से मध्य ८ हजार ४१० मिटर, ल्होत्से शार ८ हजार ४०० मिटर र यालुङ काङ पश्चिम ८ हजार ७७ मिटर अग्ला छन् ।
नेपालको प्रस्तावले अन्तर्राष्ट्रिय मान्यता पाएमा विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या हालको १४ बाट बढेर २० पुग्नेछ । त्यस्तै, नेपालमा मात्र ८ हजार मिटरभन्दा अग्ला हिमालको संख्या आठबाट बढेर १४ पुग्नेछ । यससँगै विश्वका २० अग्ला हिमालमध्ये १४ वटा नेपालमा रहेको पहिचान स्थापित हुनेछ ।
प्रस्तावित हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने पहलले नेपालको पर्वतीय पहिचानलाई थप विस्तार गर्नुका साथै पर्वतारोहण, साहसिक पर्यटन, हिमाली अनुसन्धान र पर्यटन प्रवर्द्धनका नयाँ सम्भावना खोल्ने मन्त्री पौडेलले बताए ।
मन्त्री पौडेलले भने, ‘नेपाललाई विश्वका सर्वोच्च हिमालहरूको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्नसमेत सहयोग पुग्ने विश्वास लिएका छौं ।’
हिमालको अन्तर्राष्ट्रिय पहिचान र वर्गीकरणसँगै जलवायु परिवर्तनका कारण बढ्दो हिमाली जोखिम, प्राकृतिक सम्पदाको संरक्षण तथा पर्वतीय समुदायको जीविकोपार्जनका विषयलाई पनि अन्तर्राष्ट्रिय बहसमा जोड्ने अवसरका रूपमा यो सम्मेलनलाई हेरिएको छ ।


प्रतिक्रिया