काठमाण्डु – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदमुक्त गर्न ऊर्जा तथा जलस्रोतमन्त्री दीपक खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रस्ताव गरेका छन् ।सरकारले शाक्यलाई चैत ११ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । त्यसअघि कार्यकारी निर्देशक रहेका कुलमानसिंह घिसिङलाई हटाएर सरकारले शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो।
तर कार्यकारी निर्देशकमा नियुक्त भएको छोटो समयमा नै उनको काम गर्ने शैलीबाट ऊर्जा मन्त्री खड्का असन्तुष्ट भएका हुन् । शाक्यको कार्यशैलीबाट असन्तुष्ट भएका मन्त्री खड्काले उनलाई पदबाट हटाउन प्रधानमन्त्री ओली समक्ष प्रस्ताव गरेको मन्त्रालय स्रोतले बताएको छ ।
मन्त्री खड्काको प्रस्तावमा प्रधानमन्त्री ओली तत्कालै सकारात्मक नभएपनि शाक्यले गरेका गल्ती केलाएर आउन मन्त्री खड्कालाई भनेको स्रोतले जनायो ।
विद्युत् प्राधिकरणका कारण अहिले ‘टेक एन्ड पे’को विवाद उत्पन्न भएको मन्त्री खड्काको बुझाइ छ । यस विषयमा मन्त्री खड्कासँग थप बुझ्न उनको मोबाइलमा बारम्बार फोन गर्दा पनि सम्पर्क हुन सकेन ।‘टेक एन्ड पे’को व्यवस्थाको ऊर्जा उत्पादकहरूले विरोध गरिरहेका छन् ।
‘टेक एन्ड पे’ भनेको विद्युत् खरिद सम्झौता भए पनि विद्युत् उत्पादन बढी हुँदा प्रयोग नभएको बिजुलीको रकम विद्युत् प्राधिकरणले तिर्नुपर्ने व्यवस्था हो ।
तर यस्तो व्यवस्थाले ऊर्जा क्षेत्र नै संकटमा पुग्ने ऊर्जा उद्यमीहरूको भनाइ छ । भर्खरै बामे सर्न लागेको ऊर्जा क्षेत्रलाई ‘‘टेक एन्ड पे’को व्यवस्थाले समस्याग्रस्त बनाउने उनीहरूको तर्क छ ।
बजेटमा ‘टेक एन्ड पे’को व्यवस्था भुलवश आएको देखिँदैन । प्रतिनिधिसभामा बजेटमा जारी छलफलका क्रममा अर्थमन्त्री विष्णु पौडेलले ‘टेक एन्ड पे’को चर्चा गर्दै सकारात्मक र नकारात्मक सुझाव आएको बताएका थिए ।
उनले संसदबाट विद्युत् विधेयक पारित भएपछि विद्युत् व्यापारको दायरा फराकिलो हुने र विद्युत् प्राधिकरणलाई मात्रै विद्युत् बिक्री गर्नुपर्ने अवस्थाको अन्त्य हुने पनि बताएका थिए ।
कार्यकारी निर्देशक शाक्यले पदभार सम्हालेलगत्तै बसेको बोर्ड बैठकले ४८ सय मेगावाट विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) खुला गर्ने निर्णय गरेको थियो, जो विवादमा परेको छ । शाक्यले गरेको यो पहिलो निर्णयलाई नै प्राधिकरणका कर्मचारी संगठनले विरोध गरेका थिए ।
शाक्य आएलगत्तै पीपीए खुला, डिमान्ड शुल्कमा छुट लगायतको निर्णय गरेका थिए ।
प्रतिक्रिया