गृहमन्त्री थापा र सल्लाहकार सुवेदीविरुद्ध सर्वोच्चमा मुद्दा दायर


काठमाडौं –पुर्व माओवादी लडाकु लेनिन विष्टले गृहमन्त्री रामबहादुर थापा र उनका सल्लाहकार सूर्य सुवेदीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेन दायर गरेका छन् । थाइल्याण्डमा हुन लागेको कार्यक्रममा भाग लिन जान लाग्दा गैरकानूनी रुपमा विमानस्थलबाट फर्काइएको उल्लेख गर्दै तत्कालीन माओवादीका बालसेना विष्टले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन् ।

उनले गृहमन्त्रालय र विमानस्थल अध्यागमन विभागलाई समेत विपक्षी बनाएका छन् । उनले थाइल्याण्डमा हुन लागेको कार्यक्रममा जांदा आफूलाई कानून विपरीत जानबाट रोक लगाएको विष्टले रिटमा उल्लेख गरेका छन् ।

गत शुक्रबार नेपाल एयर लाइन्सको उडानबाट बैंकक जान लागेका विष्टलाई ‘जुन कार्यक्रममा जान लागेको हो, त्यस विषयसँग सम्बद्ध नेपाल सरकारको कुनै पनि निकायको सिफारिस तथा स्वीकृति’ नभएको पत्र थमाएर भ्रमण रोकेको थियो । गृहमन्त्रीका सल्लाहकार सुवेदीको ठाडो आदेशमा आफुलाई विमानस्थलबाट फर्काइएको विष्टले आरोप लगाएका थिए ।

विष्टको भ्रमण रोकिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्रालयलाई विष्ट प्रकरणबारे २४ घण्टाभित्र जवाफ दिन लिखित स्पष्टिकरण निर्देशन दिएका थिए ।

श्री सर्वोच्च अदालतमा चढाएको
निवेदन पत्र

बिषय : नेपालको संविधान २०७२ को धारा १७ तथा धारा १३३(२)(३) को आधारमा
उत्प्रेषणयुक्त प्रतिषेध लगायत अन्य जो चाहिने आज्ञा आदेश जारीगरी पाऊँ ।

काभ्रेपलाञ्चोक जिल्ला महेन्द«ज्योती गा.वि.स वडा नं.४ को हाल वनेपा न.पा.वडा नं.१२
बस्ने श्यामकाजी बिष्टको छोरा वर्ष ३१ को लेनिन बिष्ट …………………………. निवेदक
बिरुद्ध

नेपाल सरकार गृह मन्त्रालय सिंहदरवार, काठमाण्डौ ……………………………………१
माननीय गृह मन्त्री ज्यू, ऐ.ऐ…………………………………………………………………१
माननीय गृहमन्त्री ज्यूको विशेष सल्लाहाकार सूर्य सुवेदी (पथिक) ऐ.ऐ. …………१
अध्यागमन विभाग, कालिकास्थान डिल्लीबजार काठमाण्डौ…………………………..१
अध्यागमन कार्यालय त्रिभुवन अन्तराष्ट्रीय विमान स्थल ऐ.ऐ………………………१
वरिष्ठ अध्यागमन अधिकृत अध्यागमन कार्यालय त्रिभुवन अन्तराष्ट्रीय विमानस्थल
काठमाण्डौ ……………………………………………………………………………………..१
ऐ.ऐ.का डेस्क अफिसर ऐ.ऐ………………………………………………………………….१
ऐ.ऐ.का प्रस्थान अफिसियर (D.O)ऐ.ऐ……………………………………………………१ प्रत्यार्थि

म निवेदक सर्वोच्च अदालत नियमावली २०७४ बमोजिम लाग्ने दस्तुर यसै साथ संलग्न गरी निम्न निवेदन गर्दछु :–
१) म निवेदक नेपाली नागरिक रही बंशजको नाताले नागरिकता प्राप्त गरी नेपाल सरकार परराष्ट्र मन्त्रालयको राहदानी विभागबाट राहदानी ऐन,२०२४ बमोजिम ११ सेप्टेम्बर २०१४ मा राहदानी प्राप्त गरेको छु । उक्त राहदानीको अवधि १० सेप्टेम्वर, २०२४ सम्म रहेको छ ।
२) सो बमोजिम राहदानी प्राप्त गरी विदेश जान योग्य रहेको छु । उक्त राहदानीको आधारमा ०९।१०।०१७ मा मित्र राष्ट्र रसिया गई ७ दिन बसी १९ औं यूवा सम्मेलनको कार्यक्रममा सहभागी भई मिति २० अक्टोवर, २०१७ मा स्वेदश फर्केको हुँ ।

सोही बमोजिम Bangkok मा मिति २०७५।५।९ देखि आरम्भ भई मिति २०७५।५।१३ सम्म सञ्चालन हुने Asian Resource good governance आयोजित Youth in conflict areas Healing and Peace Building Through Social Engagement बिषयको ५ दिने तालिममा सहभागी हुन आयोजक संस्थाबाट आउन जाने द्वितर्फि हवाई टिकट, खाने बस्ने सुविधा सहित उक्त देशमा प्रवेश गर्ने राहदानी समेत उपलव्ध गराई आमन्त्रण गरिए बमोजिम निवेदक मिति २०७५/५/८ गतेको नेपाल एयर लाइन्सको उडान RA401 बाट विहानको ९.५० बजे Bangkok प्रस्थान गर्न त्रिभुवन विमान स्थलमा समयमा नै पुगी आवश्यक राहदानी, प्रवेशाज्ञा प्रस्तुत गरी बोर्डिङ्ग पास लिई अध्यागमन कार्यालय त्रिभुवन अन्र्तराष्ट्रीय विभागमा चेक जाँच गराई मेरो राहदानीमा प्रस्थानको छाप लगाई विमान तर्फ जान लाग्दा प्रत्यर्थी अध्यागमन कार्यालयका कर्मचारीले तपाईको राहदानी र वोर्डिङ्ग पास दिनुहोस् भनि मागी मैले प्राप्त गरेको राहदानीमा प्रस्थानको छापमा रद्द गरिएको (Cancelled ) को छाप लगाई मैले प्राप्त गरेको वोर्डिङ्गपास समेत खोसी लिएको हुँदा निवेदकले के कुन कारणबाट मेरो प्रस्थानको थाप रद्द गरिएको तथा बोर्डिङ्ग पास खोसी लिएको भन्दा माथिको आदेशले हो भनि मौखिक रुपबाट भनियो ।

यसो गर्नुको लिखित कारण खोली लिखित रुपमा जानकारी दिनुहोस भन्दा प्रत्यर्थी कार्यालयको मिति २०७५।०५।०८ को “थाइल्याण्ड कार्यक्रममा जान लागेकोमा जुन कार्यक्रममा जान लागेको हो त्यस बिषय संग सम्बद्ध नेपाल सरकारको कुनैपनि निकायको सिफारिस तथा स्वीकृति नदेखिएकोले प्रस्थान अनुमति नदिएको” भन्ने व्यहोरा उल्लेख भएको च.नं. ४८२ मिति २०७५/५/८ को पत्र निवेदकलाई दिइयो ।

३) प्रत्यर्थीहरुको उपरोक्त कामकारवाही र पत्रहरुले निवेदकको नेपालको संविधानको धारा १७, १८, समेतद्वारा प्रदत्त संवैधानिक हक तथा राहदानी ऐन, २०२४ को दफा २,३,४ राहदानी नियमावली, २०६७ को नियम १० मुलुकी देवानी (संहिता) ऐन, २०७४ को दफा ७, १७, १८ तथा २० समेतद्वारा प्रदत्त कानूनी हक आघातित अपहरित भएको र उक्त हक आघातित अपहरित भएको र प्रत्यर्थीहरुको काम कारवाहीहरु बदर गरी हकको संरक्षण र प्रचलन गरी पाउने प्रभावकारी बैकिल्पक कानूनी उपचारको मार्ग नरहेकोले नेपालको संविधानको धारा ४६ र १३३(२)(३) समेत बमोजिम यो निवेदन गर्न आएको छु । निवेदकलाई विदेश जान रोक लगाएको उक्त पत्र उत्प्रेषणको आदेशद्वारा बदर गरी उप्रान्त निवेदकलाई राहदानीको अवधि कायम नरहेको तथा जाने देशले प्रवेशज्ञा उपलव्ध नगराएको अवस्थामा बाहेक अन्य अवस्थामा निवेदकलाई विदेश जान नरोक्नु, रोक्न नलगाउनु भन्ने प्रतिषेधको आदेश तथा राहदानी र प्रवेशज्ञा बमोजिम विदेश भ्रमण गर्न दिनु दिलाउनु भन्ने परमादेशको आदेश लगायत अनय जो चाहिने आज्ञा आदेश वा पुर्जि प्रत्यर्थीहरुको नाममा जारी गरी पाऊँ । माग बमोजिमको आदेश जारी हुनु पर्दछ भन्ने सन्दर्भ मा निम्न निवेदन गरेको छु :–

क) निवेदक राहदानी ऐन,२०२४ बमोजिम राहदानी लिन योग्य भएको कारणबाट निवेदकलाई राहदानी उपलव्ध गराईएको छ । निवेदकको राहदानीको अवधि समाप्त भएको छैन । अवधि बाँकी नै रहेको छ । राहदानी ऐन, २०२४ को दफा २ मा राहदानी भन्नाले विदेश जाँदा नेपाली नागरिकलाई त्यस्तो भ्रमण गर्न अनमति प्रदान गरी त्यस्तो भ्रमण गर्न जाने देशहरु तथा समय तोकि नेपाल सरकारबाट दिइने लिखत सम्झनु पर्छ भन्ने व्यवस्था रहेको छ ।

सोही ऐनको दफा ३ मा विदेश यात्रामा जाँदा नेपाली नागरिकले आफ्नो नाममा जारी भई वहाल रहेको राहदानी मात्र लिएर जान सक्ने छ भन्ने व्यवस्था रहेको छ । सो बाहेक विदेश जान अन्य कुनै शर्त बन्देज उक्त ऐनले तोकेको छैन । विदेश भ्रमणमा जान आवश्यक पर्ने राहदानी लगायतका कागजात भएको निवदेकलाई भ्रमण गर्नबाट रोकको काम कारवाही उक्त कानूनी व्यवस्थाहरुको प्रत्यक्षतः विपरित छ ।

ख) राहदानी नियमावली, २०६७ को नियम १० मा राहदानी जारी गर्न इन्कार गर्न सक्ने आधारहरु रहेका छन् । उक्त नियममा उल्लेख भएको अवस्था भएकोमा बाहेक राहदानी जारी गर्न इन्कार गर्न मिल्ने व्यवस्था कुनै प्रचलित नेपाल कानूमा रहेको छैन । नियमावलीले राहदानी जारी गर्न इन्कार गर्न सकिने भन तोकेको कुनै पनि अवस्था निवदेकको हकमा विद्यमान रहेको छैन । राहदानी प्राप्त गर्न योग्य व्यक्ति राहदानी मा उल्लेख भएको देश भ्रमण गर्न स्वतः योग्य हुने निर्विवाद छ । यस्तो अवस्थामा आफू खुशी रुपबाट अयोग्य रहेका भन्ने उल्लेख गरी भ्रमण गर्न रोक लगाएको काम कारावही स्वच्छन्दपूर्ण र नियमको उक्त व्यवस्थाको विपरित रहेकोले शून्यपूर्ण छ ।

ग) कानून बमोजिम जारी भइ अवधि बाँकी रहेको राहदानीको आधारमा निवदेक सरहका अन्य सवै नेपालीहरुले विदेश भ्रमण गरि आएका छन् । अन्य नेपालीले विदेश भ्रमण गर्न तथा विदेशमा हुने कार्यक्रममा सहभागी हुन पाउने र मैले नपाउने भन्ने अवस्था नै रहेको छैन । विना आधार कारण विदेश भ्रमण गर्न रोक लगाएको कार्य विभेदजन्य, वदनियतपूर्ण र पूर्वाग्रही समेत रहेको कारणबाट शून्य पूर्ण छ ।

घ) कानून ठूलो हुन्छ । विधायीकाले निर्माण गरेको कानून भन्दा ठूलो कुनैपनि निकाय हुन नै सक्दैन । जुनसुकै निकायले कुनै कार्य गर्दा कुन कानून अन्र्तगत उक्त कार्य गर्न लागीएको हो भन्ने कुरा लोकतान्त्रीक सरकारले स्पष्ट रुपमा उल्लेख गरी आधार कारण खोली निर्णय गर्नु पर्नेमा विना आधार कारण कानून संम्मत नेपालबाट वैंकक तर्फ जान लागेको निवेदकलाई बैंकक जानबाट रोक लगाउने कार्य कानून वर्जित रहेको छ ।
ङ) निवेदक नेपाली नागरिकको हैसियतले परराष्ट्र मन्त्रालय अन्र्तगत राहदानी शाखाबाट राहदानी नं. ०७८४१०५४ को राहदानी जारी भएको छ । निवेदकलाई Asian Resource Foundation बाट 27 th July, 2018 मा Youth in conflict areas Healing and Peace Building Through Social Engagement बिषयको ५ दिने तालिम कार्यशालामा भाग लिनका लागी आमन्त्रण गरिएकोले सो आमन्त्रण पत्रको फोटोकपी निवेदकको नाउको राहदानी राखी Kingdom of Thailand को नेपाल स्थित दूतावासमा पेश गरेकोमा भिस्सा प्रदान गरिएकोले उक्त भिस्साको आधारमा मिति २०७५/५/८ गते विहान ९.५० वजे RA401 बाट बैकक जाने टिकट खरिद गरी २०७५/५/८ गते विहान त्रिभुवन विमान स्थलमा पुगी आर.ए.को काउन्टरमा टिकट, राहदानी देखाई आफूसंग भएको सामान चेक गराई बोडिङ्ग पास प्राप्त गरी त्रिभूवन विमान स्थलको अध्यागमन कार्यालयमा राहदानी र वोडिङ्ग पास देखाई प्रवेशाज्ञा प्राप्त गरी सकेको निवेदकलाई अध्यागमन कार्यालयका कर्मचारीले राहदानी र वोडिङ्ग पास लिई राहदानीमा प्रवेशाज्ञा प्राप्त गरेको छाप माथी Cancelled को छाप लगाई वोडिङ्ग पास राखी राहदानी फिर्ता गरेकोले मेरो राहदानीमा किन Cancelled को छाप लगाएको र वोडिङ्ग पास लिएको भनि जानकारी माग्दा माथिको आदेशले रोकेको हो भनि जानकारी दिएको, निवेदकले लिखत जानकारी दिनुहोस भनि बारम्बार अनुरोध गरी सकेपछि च.नं. ४८२ मिति २०७५।५।८ को पत्रमा “थाइल्याण्ड कार्यक्रममा जान लागेकोमा जुन कार्यक्रममा जान लागेको हो त्यस बिषय संग सम्बधमा नेपाल सरकारको कुनै पनि निकायको सिफासि तथा स्वीकृत नदेखिएकोले प्रस्थान अनुमति नदिएको जानकारी दिइएको छ ।

उक्त मिति २०७५/५/८ को पत्र कुनैपनि कानून, नियम तथा निर्देशिकामा समेत आधारित नभएकोले उक्त मिति २०७५/५/८ को पत्र बदर गराउनका लागी अन्य बैकल्पिक कानूनी व्यवस्था नभएकोले नेपालको संविधान २०७२ को धारा १७ तथा धारा १३३(२)(३) मुलुकी देवानी (संहिता) ऐन, २०७४ र मुलुकी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा ७, १७, १८ तथा दफा २० को अधिनमा यो निवेदन लिई सम्मानित अदालतको असाधारण अधिकार गुहार्न आएको छु । मिति २०७५/५/८ को पत्र उत्प्रेषणको आदेशले बदर गरी निवेदकलाई स्वतन्त्र पूर्वक कुनै देशको भिस्सा प्राप्त गरेको अवस्थामा अध्यागमन कार्यालयबाट रोक नलगाउनु भन्ने प्रतिषेधको आदेश जारी गरी पाऊँ ।

च) म निवेदकले प्राप्त गरेको भिस्सा बमोजिम बैंकक जानका लागी रोक लगाउने कुनै आधार र कारण दिन सकेको छैन । पत्रमा नेपाल सरकरको कुनैपनि निकायको सिफारिस तथा स्वीकृति नदेखिएको भन्ने उल्लेख गरिएको छ । निवेदकले प्राप्त गरेको निमन्त्रणा बमोजिम नेपाल सरकारको कुनै निकायको सिफारिस आवश्यक हो भन्ने उक्त पत्रबाट खुल्दैन । अमुक निकायको सिफारिश नभएको नदिएको भन्ने आधारमा मेरो प्रवेशाज्ञा रद्ध गर्ने गरेको अध्यागमन कार्यालय त्रिभूवन विमान स्थलको मिति २०७५/५/८ को आदेश बदर भागी छ ।

छ) नेपालबाट तेश्रो देश आउने जाने सम्बन्धमा नेपालमा रहेको विद्यमान कानून भनेको अध्यागमन ऐन, २०४९ अध्यागमन नियमावली २०५१ र अध्यागमन विभागबाट जारी भएको अध्यागमन कार्यविधि २०६५ रहेको छ । अध्यागमन ऐन, २०४९ को दफा ३(६) मा नेपालबाट विदेश प्रस्थान गर्ने सम्बन्धमा व्यवस्था तोकिए बमोजिम हुने छ भन्ने र नियमावली २०५१ को नियम १४(ख) मा नेपालबाट प्रस्थान गर्नबाट रोक लगाउनको लागी कुनै अधिकार प्राप्त अधिकारीबाट कारण सहितको जानकारी प्राप्त हुन आएमा भन्ने व्यवस्था गरिएको देखिन्छ । निवेदकको हकमा प्रवेशाज्ञा प्राप्त गरी सकेको अवस्थामा रोक लगाउनाका लागी कारणसहित जानकारी दिएको अवस्था छैन । अमुक निकायबाट सिफारिस तथा स्वीकृति नलिएको भन्ने कारण खोली प्रवेशाज्ञा बदर गर्ने गरेको निर्णय हचुवा तथा लहडको आधार र कारण भएकोले मिति २०७५/५/८ को पत्र बदर गरी पाऊँ ।

ज) पञ्चायत कालमा कुनै व्यक्तिलाई एक ठाउबाट अर्को ठाउमा जान नदिने गरेका आदेशहरु यस सम्मानित अदालतबाट बदर गरिएको अवस्था थियो । नागरिकको हिडडुल गर्ने वैयक्तिक स्वतन्त्रता अपहरण पञ्चायती शासकबाट वारम्बार निषेध गरेको कारणबाट २०४५, २०४६ को जनआन्दोलन भै बहुदल प्राप्त गरेको र उक्त बहुदल प्राप्त गर्दा समेत नागरिकको अधिकार छिन्ने खोसिने गरिएको हुदा २०६२, २०६३ को आन्दोलनले प्राप्त उपलब्धीबाट नेपालको संविधान जारी भएको हो । नेपालको संविधानको प्रस्तावनामा नै लोकतन्त्र र अग्रगामी परिवर्तन, सामन्ती, निरंकुस केन्द्रीकृत एकात्मक राज्य व्यवस्थाले श्रृजना गरेको सबै प्रकारका विभेदको अन्त गर्ने, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकारको ग्यारेण्टी गरिने गरी संविधान जारी भएको अवस्थामा निवेदकलाई विना आधार र कारण कार्यक्रममा भाग लिन जान रोक लगाउने कार्यबाट निवेदकको संविधानले ग्यारेण्टी गरेको मौलिक हक समेतमा मिति २०७५/५/८ को पत्रले कुन्ठीत गरेकोले उक्त मितिको पत्र बदर गरी निवेदकलाई संविधानको परिधी भित्र रही विदेश आउन जानकालागी रोक नलगाउनु भन्ने बिपक्षीहरुका नाउमा प्रतिषेधको आदेश जारी गरी पाऊँ ।

झ) संघिय लोकतान्त्रीक गणतन्त्रात्मक शासन व्यवस्था ल्याउनका लागी राणा शासन देखि नेपाली जनता लड्दै आएको सो लडाईमा शासक र जनताका बिच ठूलो ऋयलाष्अित रहेको र नेपालको संविधान २०७२ जारी हुनु भन्दा अघि रहेको Conflict लाई कसरी समाधान गर्ने भन्ने बिषयमा युवाहरुको सम्मेलन बैंककमा गरिएको र उक्त सम्मेलनमा सहभागी गराउनाका लागी Asian Resource Foundation ले निवेदकलाई आमन्त्रण गरेको हो । निवेदकले उक्त सम्मेलनमा भाग लिदा, त्यहाँबाट प्राप्त गरेका उपलब्धी नेपालमा रहेका Conflict सम्बन्धी विवादमा उपयोगी हुने कुरामा दुईमत हुन सक्दैन । तेश्रो देशले आमन्त्रण गरेको कार्यक्रममा भाग लिन जान रोक लगाउने कार्य संविधान, नागरिक अधिकार सम्बन्धी व्यवस्था समेतको वर्खिलाप भएको हुदा उक्त पत्र बदर गरी निवेदकलाई अब आइन्दा कानूनले निषेध गरेको कार्य वाहेक अन्य कार्य गर्न विदेश जान आउन रोक नलगाउनु भन्ने आदेश जारी गरी पाऊँ ।

ञ) म निवेदक बैंककबाट आमन्त्रण गरिएको कार्यक्रममा भाग लिन जाँदा नेपालको संविधानको कुनैपनि धाराले रोक लगाएको छैन । धारा १७१(च)१ मा नेपालको सार्वभौमसत्ता भौगोलिक अखण्डता, राष्ट्रीयता र स्वाधिनतामा वा संघिय इकाई लगायत कार्य गर्न लागेको अवस्था प्रमाणित भए नागरिकको स्वतन्त्रतामा बन्देज लगाउन सक्ने व्यवस्था गरेको छ । निवेदकलाई दिइएको पत्रमा उक्त कुरा उल्लेख हुन नसकेकोले बिपक्षीको मिति २०७५/५/८ को पत्र बदर घोषित गरी पाऊँ ।

ट) निवेदक स्वयम द्धन्द पिडितमा परेको द्धन्द सामाधानका लागी गरीएको सम्मेलनबाट प्राप्त हुने ज्ञान, सिप लगायतबाट नेपालको द्धन्द सामाधान गर्ने तरिका निधारण गर्न सहयोग पुग्ने कार्यमा सरकार स्वयमले सहभागी गराउन पठाउनु पर्नेमा तेश्रो देशबाट प्राप्त निमन्त्रणा बमोजिम देशको कुनै व्ययभार नपर्ने गरी जान लागेको अवस्थामा सिफारिश नलिएको भन्ने आधारमा निमन्त्रणामा भाग लिन जान रोक लगाईएको छ । निवेदकले उक्त सम्मेलनमा भाग लिदा नेपालको संविधान तथा कानुनको बर्खिलाप हुन सक्दछ भन्ने निर्णयमा नपुगी सम्मेलनमा बैंकक जान रोक लगाएको पत्र उत्प्रेषणको आदेशले बदर गरी कानून परिधिमा रही निवेदकको विदेश आउ जाउ गर्ने मौलिक हकमा यस उप्रान्त वन्देज नगर्नु नगराउनु भन्ने प्रतिषेधको आदेश जारी गरी पाऊँ ।

४) अतएवं उपरोक्त प्रकरणहरुमा वर्णित तथ्य तथा कानूनका आधारमा निवेदकको नेपालको संविधानको धारा १७, १८, समेतद्वारा प्रदत्त संवैधानिक हक तथा राहदानी ऐन, २०२४ को दफा २,३,४ राहदानी नियमावली, २०६७ को नियम १० मुलुकी देवानी (संहिता) ऐन, २०७४ को दफा ७, १७, १८ तथा २० समेतद्वारा प्रदत्त कानूनी हक आघातित अपहरित भएको र उक्त हक आघातित अपहरित भएको र प्रत्यर्थीहरुको काम कारवाहीहरु बदर गरी हकको संरक्षण र प्रचलन गरी पाउने प्रभावकारी बैकिल्पक कानूनी उपचारको मार्ग नरहेकोले नेपालको संविधानको धारा ४६ र १३३(२(३) समेत बमोजिम यो निवेदन गर्न आएको छु ।

निवेदकलाई विदेश जान रोक लगाएको उक्त पत्र उत्प्रेषणको आदेशद्वारा बदर गरी उप्रान्त निवेदकलाई राहदानीको अवधि कायम नरहेको तथा जाने देशले प्रवेशज्ञा उपलव्ध नगराएको अवस्थामा बाहेक अन्य अवस्थामा निवेदकलाई विदेश जान नरोक्नु, रोक्न नलगाउनु भन्ने प्रतिषेधको आदेश तथा राहदानी र प्रवेशज्ञा बमोजिम विदेश भ्रमण गर्न दिनु दिलाउनु भन्ने परमादेशको आदेश लगायत अनय जो चाहिने आज्ञा आदेश वा पुर्जि प्रत्यर्थीहरुको नाममा जारी गरी पाऊँ ।

५) यो निवेदन पत्र दर्ता गर्न हाल कानुन व्यवशायी नियुक्त गरेको छैन । पछि मेरो तर्फबाट रहनु हुने कानून व्यवशायीले इजलाश समक्ष उपस्थित भई गर्नु हुने बहस बुदालाई समेत यसै निवेदन पत्रको अभिन्न अंग मानि पाऊँ ।
६) निम्न कागजातहरुको फोटोकपी यसै साथ संलग्न गरेको छु :
क) निवेदकको नागरिकता ।
ख) अध्यागमन कार्यालयबाट मिति २०७५/५/८ मा दिएको पत्र ।
ग) निवेदकको नाममा जारी भएको राहदानी तथा भिस्सा ।
घ) नेपालबाट जाने आउने टिकट ।
ङ) वोडिङ्ग पासको खिचिएको फोटोबाट निकालिएको फोटोकपी ।
च) नागरिक दैनिक, कान्तीपुर दैनिक, काठमाण्डौ पोष्ट, हिमालयन टाइमहरुमा मिति २०७५/५/९ गते प्रकाशित समाचार ।
छ) रिपव्लीक, नागरिक पोष्ट लगायतमा मिति २०७५\५\११ को समचार तथा सम्पादकीय ।
७) लेखिएको व्यहोरा ठिक साँचो छ फरक परे कानून बमोजिम सहुला बुझाउला ।
निवेदक
निज लेनिन विष्ट
इति सम्वत् २०७५ साल भदौ १४ गतेरोज ५ शुभम् …………………………………………………

प्रतिक्रिया दिनुहोस
Advertisement