ललितपुरमा यसरी मनाइयो होली (फोटोफिचर)


काठमाडौं – आज फागुन शुक्ल पूर्णिमा, हिमाली तथा पहाडी जिल्लामा फागु अर्थात् होली पर्व मनाइँदैछ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

तर कोरोनाको जोखिम बढेकाले यसपालि अघिल्ला वर्षहरु जस्तो होलीको रौनक छैन । ठूला सभा समारोह, भेला तथा कार्यक्रम गर्न रोक लगाएको सरकारले सामुहिक रुपमा होली नखेल्न, भिडभाड गर्ने तथा लोला पानी हाल्ने काम नगर्न सबैसँग अनुरोध गरेको छ ।

ललितपुरको कृष्ण मन्दीरमा अघिल्लो वर्षको जस्तो उल्लास देखिएन ।  कोरोना भाइरसका कारण ललितपुरको कृष्ण मन्दीरमा हरेक होलीमा हुने कन्सर्ट स्थगित भएको छ । होली खेल्नेहरुको संख्या पनि निकै कम देखिएको थियो ।

गृह मन्त्रालयले सूचना निकालेर लोलापानी फ्याँक्ने, रङ्ग तथा अबिर दल्ने काम जोखिमपूर्ण हुने हुँदा यस्ता गतिविधि नगर्न अनुरोध गरेको छ ।

विगतका वर्षमा होलीको दिन असाध्यै भिडभाड र चहलपहल हुने वसन्तपुर, इन्द्रचोक, असन, पाटन दरबार, मंगलबजार र भक्तपुर दरबारलगायतका क्षेत्रमा यसपटक भिड कम छ ।

केही ठाउँमा बालबालिकाले फाट्टफुट्ट रुपमा अबिर र पिचकारी खेलेको देखिए पनि अभिभावकहरुले घरमै बसेर रङ्ग, अबिर साटेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement