होलीको उमङ्ग, गोठाटारमा यसरी मनाइयो होली (फोटोफिचर)


काठमाडौं – फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलोरूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ । फागु पर्वको अघिल्लो दिन पनि राजधानीका सडकमा फोहर पानी छ्यापेको देखिँदैन ।

विश्वव्यापी प्रभावमा रहेको कोरोना भाइरस नेपालमा भित्रिएको नपाइए पनि सम्भावित जोखिमबाट बच्न भीडभाड र भेलामा जम्मा हुने, लोला हान्ने, रङ, अबीर दल्ने कार्य नगर्न र नगराउन गृह मन्त्रालयले यसअघि नै जारी गरेको सार्वजनिक सूचनाका कारणले पनि यस पटकको होली सामान्य बनेको हो । मन्त्रालयले भीडभाडमा जाँदा कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्ने भन्दै सावधानी अपनाउन सर्वसाधारणमा अनुरोध गरेको थियो ।

सरकार र सामाजिक क्षेत्रका अगुवाले गर्ने यस प्रकारको अपिललाई सर्वसाधारणले सहजै ग्रहण गरे र होलीका नाममा हुने उमङ्गलाई सामान्यरुप दिए ।

सडकमा केही मानिस मात्रै रातो र अबीर लगाएर हिँडेको देखियो । तर, काठमाडौैंको गोठाटारमा भव्य रुपमा होली मनाइएको छ । टोल सुधार समिति हात्तिडाँडा समाजले पनि भव्य रुपमा होली मनाएको समाजका अध्यक्ष गणेश थापाले जानकारी दिए । समाजले हाँडी फुटाउने खेलको आयोजना गरेको थियो । होलीले सामाजिक सद्भाव कायम गर्न सहयोग पुगेका अध्यक्ष थापाले बताए ।

विश्वव्यापी कोरोना भाइरसको प्रभाव र समाजमा क्रमशः शान्तिपूर्णरुपमा यस्ता पर्व मनाउने चेतना फैलिएका कारण विगत वर्षमा जस्तो यस वर्षको होली शान्तिपूर्ण देखियो । आपसी सद्भाव र भाइचारा अभिवृद्धि गर्ने यो पर्वमा यस पटक धेरैले घरमै सामान्य, सौम्य र शान्तिपूर्णरुपमा मनाए ।

काठमाडौँस्थित महानगरीय प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले पहिलेको तुलनामा यस वर्षको होली पर्व मनाउने सङ्ख्यामा कमी आएकाले कुनै घटना नभएको बताए । उनले सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै प्रहरी भने परिचालन गरिएको जनाउँदै होली पर्वमा सम्भावति दुर्घटना हुनबाट रोक्न उपत्यकामा करिब दुई हजार ५०० प्रहरी परिचालन गरिएको जानकारी दिए ।

ट्राफिक प्रहरीले मादकपदार्थ सेवन गर्ने, हेल्मेट नलगाउने, तीन जना मोटरसाइकलमा बसाउने, तीव्रगतिमा सवारीसाधन चलाउनेलाई नियन्त्रणमा लिएको छ ।

                

 

प्रतिक्रिया दिनुहोस
Advertisement