गृह मन्त्रालयमा विपद् व्यवस्थापन छलफल : वडा तहसम्म दलीय संयन्त्र बनाउनुपर्ने निष्कर्ष

गृह मन्त्रालयमा विपद् व्यवस्थापन छलफल : वडा तहसम्म दलीय संयन्त्र बनाउनुपर्ने निष्कर्ष

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजनीतिक दलका प्रतिनिधिले विपद्को पूर्व तयारी र व्यवस्थापनका लागि केन्द्रदेखि वडातहसम्म दलीय संयन्त्र बनाउनुपर्नेमा जोड दिएका छन् ।

गृह मन्त्रालयले बिहीबार आयोजना गरेको ‘मनसुनको पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धी छलफल’मा तल्लोस्तरसम्म संरचना भएका दलहरूलाई परिचालन गर्ने गरी ‘लुज फोरम’ बनाउन मन्त्रालयलाई सुझाव दिएका हुन् ।

२०७२ सालको भूकम्पका बेला पुर्‍याएको योगदानबाट शिक्षा लिँदै दलका नेता/कार्यकर्तामा खोज र उद्दारको कर्तव्यबोध तथा स्वयंसेवी भावना बढाउनुपर्नेमा जोड दिइएको छ ।

एकीकृत समाजवादीका नेता डा. गंगालाल तुलाधरले सामूहिक भावना र सद्भावको संस्कृति कायम राख्न पनि विपद्का बेला दलहरू एकजुट हुनुपर्ने र परिचालनका लागि सरकारले आवश्यक निर्देशिका बनाउनुपर्नेमा जोड दिए ।

भूकम्प र कोभिडका बेलाको सन्दर्भ जोड्दै नेपाली कांग्रेसका नेता एवं सांसद मोहनबहादुर बस्नेतले तल्लो तहसम्म संरचना रहेका दलका कार्यकर्तालाई ढंग पुर्‍याएर परिचालन गर्न सके तत्काल परिणाम आउने बताए ।

माओवादी केन्द्रका नेता सूर्य सुवेदीले संघदेखि वडासम्म बनाइने ‘लुज फोरम’ले राजनीतिक दलले नै नेतृत्व गरेका ३ वटै तहका सरकारबीच समन्वय गराउन भूमिका पनि खेल्ने बताए ।

एमालेका केन्द्रीय सदस्य एवं विपद् व्यवस्थापन तथा स्वयंसेवक विभाग प्रमुख किरण पौडेलले राज्यले विपद् व्यवस्थापनको स्रोतसाधन र दलहरूले जनशक्ति उपलब्ध गराउने अभ्यास प्रभावकारी हुने औंल्याए ।

छलफलमा राप्रपाका सांसद ज्ञानबहादुर शाहीले विगतका विपद् प्रभावितको व्यवस्थापनमा ध्यान दिन आग्रह गरे । जनमत पार्टीका सांसद अब्दुल खानले विपद् व्यवस्थापनको दीर्घकालीन योजना बनाउँदा पनि दलहरूसँग छलफल गर्न सुझाव दिए ।

दलका प्रतिनिधिहरूको सुझावपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानले राजनीतिक होस् या प्राकृतिक विपद्मा एकजुट हुने नेपालका दलहरूको अभ्यास सकारात्मक रहेको भन्दै जनसेवाको उद्देश्य, तल्लो तहसम्मको संयन्त्र र स्वयंसेवक परिचालनको अनुभवका आधारमा पनि विपद् व्यवस्थापनमा दलहरूको योगदान महत्त्वपूर्ण हुने अपेक्षा राखे । दलका प्रतिनिधिले ‘लुज फोरम’ बनाउन दिएको सुझाव ग्रहण गर्दै मन्त्री लामिछानेले तीनै तहको सरकारबीच समन्वय गराउन पनि फोरम प्रभावकारी हुने बताए ।