गृहमा महेश्वर न्यौपानेसहित चार जना सचिवको दाबेदारी, को बन्ला नयाँ गृहसचिव ?


काठमाडौं – गृह सचिव प्रेमकुमार राईले यही माघमा पाँच वर्षे कार्यकाल पुरा गरी सेवानिवृत्त हुँदै गर्दा नयाँ गृह सचिवको चर्चा सुरु भएको छ । गृह सचिव राई आगामी माघ २२ गतेबाट अनिवार्य अवकाश पाउँदैछन् ।

आकर्षक र शक्तिशाली मानिने गृह सचिवका लागि सचिवहरूको दौडधुप सुरु भएसँगै चार जना सचिव बलियो दावेदारीका रूपमा हेरिएको छ । स्रोतकाअनुशार भावी गृहसचिवमा महेश्वर न्यौपाने,यादव कोइराला, केदारबहादुर अधिकारी र लक्ष्मण अर्यालको नाम चर्चामा छ ।

हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका सचिव महेश्वर न्यौपाने पहिलाे दाबेदार देखिएका छन् । पर्यटन मन्त्रालय, सार्वजनिक खरिद अनुगमन हुँदै अख्तियार पुगेका सचिव न्यौपानेकाे सम्भावना बढी रहेकाे गृह स्राेतले जानकारी दियाे । न्यौपानेसँऊ गृह प्रशासनको अनुभव भने छैन ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइराला दाेस्राे दाबेदारका रुपमा देखिएका छन् । १ नम्बर प्रदेशको प्रमुखसचिव, काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदै हाल सामान्य प्रशासन मन्त्रालयमा रहेका सचिव कोइराला गृह प्रशासनको अनुभवी प्रशासक मानिन्छन् ।

गृह मन्त्रालयकै शान्ति सुरक्षा महाशाखा प्रमुख तथा प्रवक्ताको भूमिका निर्वाह गरिसकेका कोइराला अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुँदै झापा, पर्सा, कास्की तथा ललितपुरको प्रमुख जिल्ला अधिकारी(सिडिओ) भई सकेका छन् ।

चीनमा सुरक्षा डिफेन्स प्रशिक्षणसमेत लिई सकेका कोइराला निजामती प्रशासनमा हक्की, निडर र इमानदार प्रशासकको रूपमा चिनिन्छन् ।

गृह सचिवका लागि तेस्रो दाबेदार पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी अस्थिर सचिवका रूपमा लिइन्छन् । तत्कालीन स्थानीय विकास मन्त्रालय, सञ्चार मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वाणिज्य मन्त्रालय, स्वास्थ्य मन्त्रालय हुँदै पर्यटन मन्त्रालय पुगेका अधिकारी तीन महिना भन्दा बढी एउटा मन्त्रालयमा टिकेका छैनन् ।

अस्थिरतासँगै कमाण्डिङ क्षमताका हिसाबले समेत अधिकारीलाई गृह नेतृत्व दिने सम्भावना कमै देखिएको स्रोतको भनाई छ ।

गृह सचिवका लागि चौथो दावादारीका रूपमा रहेका लक्ष्मण अर्याल हाल राष्ट्रिय योजना आयोगमा कार्यरत छन् । उनीसँग गृहको अनुभव छैन् ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement