काठमाण्डु – गृहमन्त्री रमेश लेखकले कुनै ठाउँमा भारी वर्षा हुने पूर्वानुमानपछि सवारीसाधन बन्द गरिएको अवस्थामा चलाएको पाइए त्यो जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित प्रहरी प्रमुखलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
बुधबार गृह मन्त्रालयले आयोजना गरेको सडक क्षेत्रमा हुने सक्ने विपद्को पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी बैठकमा बोल्दै गृहमन्त्री लेखकले मनसुनका बेला हुन सक्ने सडक दुर्घटना न्युनीकरणका लागि गरिएका निर्णय र बनाइएका आचारसंहिता कार्यान्वयनमा जोड दिए ।
उनले सरकारी निर्णयहरूबारे आमनागरिकसम्म पुर्याउन सूचना प्रवाहमा ध्यान दिन आग्रह समेत गरे । ‘कुनै ठाउँमा भारी वर्षा हुने भनिसकेपछि सवारीसाधन चल्नुहुन्न भनिसकेपछि कुनै जिल्लामा सवारीसाधन भेटियो भने त्यो जिल्लाको प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ट्राफिक प्रहरीलाई कारबाही गरिनेछ ।’ उनले भने, ‘कारण देखाउनुपर्ने छैन । बिरामी र एम्बुलेन्स छ भने त्यो एउटा विषय बन्ला होइन भने सामान्य गाडी कसैका भनसुनका आधारमा चलाइएको पाइए कारबाहीको विषय बन्छ ।’
उनले यो विषय गृहसचिव र प्रहरी प्रमुखहरूलाई तल्लो तहसम्म सर्कुलर गर्न निर्देशन दिए । पहिरोले सडक अवरुद्धका साथै सवारीसाधन समेत बगाउने अवस्था आउने गरेको भन्दै गृहमन्त्री लेखकले सडक सञ्जाल अवरोध हुँदा धेरै समस्याहरू सिर्जना हुने गरेको बताए ।
प्रतिक्रिया