मंसिर ७ गतेको सुरक्षाका लागि गृह मन्त्रालय चनाखो, सीडीओसँग परामर्श


काठमाण्डु – मंसिर ७ गते राजधानी काठमाण्डु उपत्यकामा गर्ने भनिएको विरोध प्रदर्शनमा सुुरक्षा बन्दोबस्तका लागि गृह मन्त्रालय चनाखो देखिएको छ ।

काठमाण्डुमा मंसिर ७ गते व्यवसायी दुर्गा प्रसाइँको अगुवाइमा र राष्ट्रिय युवा संघको नेतृत्वमा छुट्टाछुट्टै विरोध कार्यक्रम हुँदैछन् । सम्भावित खतरालाई मध्यनजर गर्दै गृह मन्त्रालयले आईतबार उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सँग परामर्श गरेको छ । छलफलको नेतृत्व गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले गरेका थिए ।

काठमाण्डुका सीडीओ जितेन्द्र बस्नेत, ललितपुरका सीडीओ रुद्रप्रसाद पण्डित, भक्तपुरका सीडीओ रोशनीकुमारी श्रेष्ठ, ३ वटै जिल्लामा कार्यरत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागकाका प्रमुखहरू छलफलमा सहभागी थिए । बैठकमा दशैंतिहारको सुरक्षा व्यवस्थाबारे समीक्षा समेत भएको छ ।

मंसिर ७ गते अराजक गतिविधि र घटना हुन नदिने विषयमा पनि छलफल भएको छ । सामाजिक सञ्जालमा प्रसाइ र युवासंघ दुवै पक्ष आक्रामक देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement