कृषि सामाग्री नष्ट गर्नेमाथि कारबाही गर्न गृहलाई कृषि मन्त्रालयको पत्र


काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी नष्ट गर्नेमाथि कारबाही गर्न गृहमन्त्रालयलाई पत्राचार गरेको छ ।

कृषि मन्त्रालयले कृषि उपज नष्ट गर्ने कार्यमा संलग्नलाई कारबाही गर्दै सहज रुपमा ढुवानी र बिक्री वितरणको व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिन आग्रह गरेको छ।

‘बन्दाबन्दीको कारणले कृषिजन्य वस्तुहरुको उत्पादन एवं ढुवानीको कार्य सुचारु हुन नसकेको तथा कतिपय स्थानीय तहहरुले देशभित्रकै अन्य स्थानबाट ढुवानी भएका कृषि तथा पशुजन्य उत्पादन आफ्नो क्षेत्रमा प्रवेश गर्न नदिने र ढुवानी भएका सामाग्रीहरु जफत गरी नष्ट गरिदिने जस्ता कार्यहरु गरेको देखिएका सहजीकरण गरीदिन अनुरोध गर्दछौं,’ पत्रमा भनिएको छ ।

कृषि उपज नष्ट गर्ने अवान्छित क्रियाकलापले कृषकहरुको उपज खेर जाने मात्र नभई मनोबल खस्कने, उत्पादन घट्ने र खाद्य वस्तुको आपूर्ति शृङ्खला अवरुद्ध हुन गई खाद्य संकटको अवस्था हुन सक्ने मन्त्रालयले बताएको छ ।

आइतबार कपिलवस्तुबाट अर्घाखाँची ढुवानी भएको तरकारी कोरोना सर्ने भन्दै प्रमुख जिल्ला अधिकारीकै निर्देशनमा नष्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement