काठमाण्डु – गृहमन्त्रालयले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)प्रमुख किरण बज्राचार्यलाई कारबाही गर्ने तयारी गरेको छ । सुन तस्करीसम्बन्धी जांचबुझ आयोगले दिएको प्रतिवेदनको आधारमा बज्राचार्यलाई कार्वाही गर्ने तयारी गरेको हो ।
सुन तस्करीका अभियुक्त जीवन चलाउने,दावा लामा र नेपाल प्रहरीका पूर्व प्रमुख सर्वेन्द्र खनालबीचको कारोबारी सम्बन्ध रहेको सूचना पाएपनी सीआईबीले उनीहरुलाई जोगाउन भुमिका खेलेको भन्दै सीआईबीका अधिकारीहरुमाथि कारबाही गर्ने सिफारिस भएको हो ।
सीआईबीले पूर्व प्रहरी प्रमुख धीरजप्रताप सिंह र खनाललाई जोगाउने भुमिका खेलेको भन्दै प्रहरीभित्र समेत प्रश्न उठेको थियो ।
सीआईबीले उपराष्ट्रपतिका पुत्र दीपेश पुन र जितेन्द्र पुन र वैदेशिक मामिला विज्ञ जीवनकुमार गुरुङलाई समेत जोगाउन प्रयास गरेको थियो । पछि गुरुङ तत्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठको आदेशमा प्रक्राउ परेका थिए ।
सीआईबीले ६१ किलो सुन तस्करीका नाइके जीवन चलाउनेलाई पक्राउ गरेपनि पछि सेटिङमा छोडिएको थियो । जसमा उनले पूर्व प्रहरी प्रमुख खनाल संलग्न भएको विषयमा बयान दिएका थिए । तर, उनको बयान सीआईबीकै अधिकारीहरुले च्यातेको र चलाउनेलाई छोडिएको पाइएको छ ।
चलाउने अहिले फरार छन् । चलाउनेलाई पक्राउ गर्दा ठुलो प्रमाण भेटिने भएपनि उनलाई छोड्न सीआईबी केही अधिकारीहरुले भुमिका खेलेको स्रोत बताउंछ । उनको उच्च तहका नेता, कर्मचारी र प्रहरी अधिकारीसंग नै कारोबारी सम्बन्ध देखिएको छ ।
गृहमन्त्री रवी लामिछानेले आजै बज्राचार्यलाई सीआईबीबाट हटाउने तयारी गरेका छन् । उनले अनुसन्धान फेरी अघि बढाउने बताइसकेका छन् ।
प्रतिक्रिया