पाँचथर सामूहिक हत्याकाण्डको तथ्य चाँडै सार्वजनिक गर्छौंः गृहमन्त्री


काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पाँचथरको आरुबोटेमा भएको ९ जनाको सामूहिक हत्या प्रकरणको तथ्य छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन् ।

गृहमन्त्री थापाले बुधबार संघीय संसद राष्ट्रिय सभाको बैठकमा बोल्दै त्यस विभत्स हत्या प्रकरणबारे औपचारिक जानकारी गराउँदै हत्याकाण्डको यथार्थं विवरण छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले त्यस हत्याकाण्डको अनुसन्धानमा सक्दो सहयोग गर्न पनि स्थानीयलाई आह्वान गरेका छन् ।

गृहमन्त्री थापाले घटनामा हत्या गरिएका ९ जना र नजिकैको जंगलमा झुण्डिएको अवस्थामा मृत भेटिएका अर्का एक जनाको शव पनि पोष्टमर्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको पनि जानकारी दिए ।

घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोली घटनास्थल पुगेको छ । त्यस घटनामा भागेर बाँच्न सफल १२ वर्षीय बालिका सीता खुजुमको दमकस्थित एक अस्पतालमा उपचार भैरहेको र उनको उपचारका लागि आवश्यक व्यवस्था मिलाइएको पनि गृहमन्त्री थापाले जानकारी दिए ।

सोमबार राति भएको सामूहिक हत्या प्रकरणमा ससुरा बमबहादुर फियाक र ज्वाइँ धनराज शेर्मा परिवारका नौ जनाको विभत्स हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement