काठमाण्डु- गृहमन्त्री सुदन गुरुङ अहिले धमाधम नेपाल-भारत सीमा क्षेत्रको निरीक्षण गरेका छन् ।
शनिबार मन्त्री गुरुङले शनिबार मोरङ र सुनसरीमा गृह मन्त्रालय मातहतका कार्यालय तथा सीमाक्षेत्रको स्थलगत निरीक्षण गरेका हुन् । त्यसअघि उनले गत हप्ता बारा र पर्सामा भारतसँग जोडिएको सीमा क्षेत्रको निरीक्षण गरेका थिए ।
सबै निरीक्षणहरूका क्रममा गृहमन्त्री गुरुङले नेपाल–भारत सीमा क्षेत्रमा हुने चोरी–तस्करी, अवैध कारोबार तथा अन्य गैरकानुनी गतिविधिमाथि नियन्त्रण गर्न निर्देशन दिएका छन् ।
मोरङ र सुनसरीमा पनि उनले नेपाल–भारत खुला सीमाबाट हुने अवैध व्यापार नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिए ।
मन्त्री गुरुङले मोरङ जिल्ला प्रशासन कार्यालय, कोशी प्रदेश प्रहरी कार्यालय, रानी सीमा नाका, एकीकृत जाँच चौकी (आईसीपी), मोरङ जिल्ला प्रहरी कार्यालय तथा आईसीपी नजिक रहेको ऐतिहासिक राजा विराट दरबार क्षेत्रको निरीक्षण गरेका थिए ।
विराटनगरस्थित आईसीपीमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले नेपाल–भारत खुला सीमाबाट हुने अवैध व्यापार नियन्त्रणका लागि सीमा सुरक्षालाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए ।
उनले भने, ‘सीमा खुला भए पनि त्यहाँ खटिएका सुरक्षाकर्मीका लागि पर्याप्त आवासको व्यवस्था छैन । सुरक्षा सबैको साझा सरोकार भएकाले सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीका लागि उपयुक्त आवास निर्माण गर्न संघ, प्रदेश र स्थानीय सरकार मिलेर काम गर्नुपर्छ ।’
उनले सीमापार हुने सबै प्रकारका अवैध गतिविधि नियन्त्रण गर्न तीनै तहका सरकारबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताए ।
गृहमन्त्री गुरुङका अनुसार अवैध व्यापार नियन्त्रण गर्न सके भन्सार राजस्व वृद्धि हुने र त्यसले राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्नेछ ।
उनले सीमा सुरक्षामा अझै धेरै चुनौती रहेको स्वीकार गर्दै निगरानी प्रणाली, सिसिटिभी क्यामेरा तथा सुरक्षाकर्मीका लागि पर्याप्त आवासको अभाव रहेको बताए ।
गृह मन्त्रालयले सीमा सुरक्षा सुदृढीकरण, प्रविधि विस्तार तथा आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्ने उनले बताए ।




प्रतिक्रिया