काठमाण्डु – गृहमन्त्री सुधन गुरुङ अचानक विराटनगर पुगेका छन् ।
नेपाल–भारत सीमा क्षेत्रको सुरक्षा अवस्थाको स्थलगत अनुगमनका लागि मन्त्री गुरुङ शनिबार बिहान विराटनगर पुगेका हुन् ।
उनले त्यँहा पुगेर जिल्ला प्रशासन कार्यालय मोरङको अनुगमन तथा निरीक्षण गरेका छन् । सीमा सुरक्षाको वास्तविक अवस्था बुझ्न स्थलगत निरीक्षणमा लागि मन्त्री गुरुङ कोशी प्रदेशको सीमावर्ती क्षेत्रमा आएका हुन् ।
नेपाल–भारत सीमाअन्तर्गत मोरङको सीमावर्ती क्षेत्रमा सुरक्षाको अवस्था, प्रहरी परिचालन, भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन तथा आवश्यक सुधारका विषयमा सम्बन्धित सुरक्षा निकायसँग जानकारी लिने उनको योजना छ ।
मन्त्री गुरुङले पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय मोरङको निरीक्षण गरेका छन् । त्यसपछि उनले मोरङस्थित नेपाल–भारत सीमा क्षेत्रको स्थलगत अनुगमन गर्ने कार्यक्रम तय गरिएको छ ।
सुरक्षा स्रोतका अनुसार गृहमन्त्री गुरुङको भ्रमण मोरङमा मात्र सीमित रहने छैन । उनले सुनसरी जिल्लामा समेत आकस्मिक छड्के अनुगमन गर्ने कार्यक्रम रहेको छ भने आवश्यक सुरक्षा अवस्थाका बारेमा जानकारी लिन धनकुटासम्म पुग्ने छन् ।
अनुगमनका क्रममा उनले सीमा नाकाको सुरक्षा व्यवस्थापन, प्रहरी परिचालन, सीमावर्ती क्षेत्रका गतिविधि, सम्भावित अवैध कारोबार तथा चोरी तस्करी नियन्त्रणका उपायका बारेमा सुरक्षा अधिकारीहरूसँग विस्तृत जानकारी लिने कार्यक्रम रहेको छ।
साथै, जिल्लाको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै आवश्यक निर्देशन समेत दिने तयारी रहेको सुरक्षा स्रोतले जनाएको छ ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुरुङले प्रहरी संगठनलाई प्रभावकारी बनाउन भौतिक पूर्वाधार मजबुत पारिने बताए । देशका विभिन्न जिल्लामा रहेका प्रहरी कार्यालयका भवन जीर्ण अवस्थामा रहेको आफूलाई जानकारी भएको उल्लेख गर्दै उनले जीर्ण संरचनाको पुनः निर्माण तथा स्तरोन्नतिका लागि सरकारले योजना बनाइरहेको जानकारी दिए ।
उनले सरकारले प्रहरीका आवश्यक भवन निर्माणलाई प्राथमिकतामा राखेको भए पनि बजेट अभावका कारण केही आयोजना प्रभावित भएको बताए ।




प्रतिक्रिया