सेवा र सुरक्षामा तटस्थ र निपक्ष ढंगबाट काम गर्न गृहमन्त्रीको सशस्त्रलाई निर्देशन


काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले शुक्रबार व्यक्तिगत उन्नति र समृद्धिभन्दा माथि उठेर देश र जनताको हितमा समर्पित रहँदै कार्यक्षेत्रमा उत्कृष्ट कार्य गर्दै आफूलाई नमूनाको रुपमा प्रस्तुत गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् । आज सशस्त्र मुख्यालय हलचोक पुगेर उनले सेवा र सुरक्षामा तटस्थ र निपक्ष ढंगबाट काम गर्न निर्देशन दिएका हुन् ।

संविधान कार्यान्वयनको मुख्य कडीको रुपमा रहेको तीनै तहको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने कार्यमा सशस्त्र प्रहरी बल नेपालले खेलेको भूमिकाको प्रशंसा गदै उनले भने मुलुकको संघीय संरचना अनुरुप प्राप्त हुने हरेक जिम्मेवारीलाई त्रुटिरहित ढंगबाट सम्पन्न गरी जनताको मनमस्तिष्कमा बस्न आगामी दिनमा अझै सफलता मिल्ने विश्वास व्यक्त गरे ।

सशस्त्र प्रहरी बल चेन अफ कमाण्डमा चल्नु पर्ने भएको हुँदा सवैले आफ्नो तहगत संरचना बमोजिमको जिम्मेवारीलाई अक्षरस पुरा गर्नुपर्ने बताउदै उनले जनताको सेवा र सुरक्षामा तटस्थ र निष्पक्ष ढंगबाट प्रभावकारी रुपमा कार्यसम्पादन गर्न निर्देशन दिए । मुलुक नयाँ शिराबाट रुपान्तरणहुँदै समृद्ध नेपाल निर्माणको दिशातर्फ अग्रसर रहेको चर्चा गदै उनले भने ‘सीमा सुरक्षा, विपद व्यवस्थापन, विशिष्ट व्यक्तिको सुरक्षा लगायत महत्वपूर्ण जिम्मेवारीहरुमा सशस्त्र प्रहरी बल सफल रहेको छ ।’

सीमित साधनश्रोतका बाबजुद उल्लेखनीय कार्य गरिरहेको सशस्त्र प्रहरी बललाई आवश्यक पर्ने श्रोतसाधनको उपलब्धताको लागि गृहमन्त्रालयले संभव भएसम्मको प्रयास गर्ने आश्वासन समेत दिए । सशस्त्र प्रहरी बलमा आबद्ध राष्ट्रसेवकहरुको वृत्तिविकास तथा कल्याणकारी कार्ययोजना तर्जुमा गरी प्रभावकारी ढंगबाट कार्यान्वयन गर्नेतर्फ संगठन प्रयत्नसिल रहेको बताउदै सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले संगठनलाई आवश्यक साधनश्रोतको व्यवस्था एवं स्तरवृद्धितर्फ समुचित पहलको आवश्यकता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement