न्यून पूर्व तयारीका कारण बढी क्षति भएको हो: गृहमन्त्री थापा


काठमाडौं – गृहमन्त्री रामबहादुर थापा बादलले देशभर अविरल वर्षापछि आएको बाढी पहिरोका कारण क्षति बढ्नुमा पूर्व तयारीमै कमजारी रहेको बताएका छन् ।प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा आइतबार सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै गृहमन्त्रीले यस्तो बताएका हुन् ।

गृहमन्त्री थापाले भने, ’न्युन पूर्व तयारीका कारण क्षति बढी भएको हो। किनभने डुबान हुँदा हामीसँग पर्याप्त डुंगा भएन। र हेलि पनि छैन।’  थापाले प्राकृतिक विपद् मानवीय विपद्का रुपमा आएकोले यसमा मानवीय कमजोरीसमेत रहेको बताए। ’यो मानवीय कमजोरी हो। हाम्रो विकासको नीति अनि आवासको नीति स्पष्ट छैन।

मापदण्डबिना जतासुकै बाटो बनाएको छ। यसले पनि बाढी पहिरो बढाएको छ।’ कतिपय ठाउँमा बाँधले पनि जोखिम बढाएको उल्लेख गर्दै गृहमन्त्री थापाले यसलाई मध्यनजर गर्दै विपदपूर्व तयारी राम्रो गर्नुपर्ने र सरकारले यसमा ध्यान दिने बताए। समितिमा सांसदहरुले उद्धार,राहत र क्षतिपूर्तिमा सरकारले विशेष ध्यान दिन आग्रह गरे। उनीहरुले वास्तविक पीडितसम्म राहत र्पुयाउनसमेत आग्रह गरे।

प्रतिक्रिया दिनुहोस
Advertisement