हिंसात्मक गतिविधि गर्ने समूहलाई कानुनी दायरामा ल्याउने काम गरिरहेका छौं : गृह मन्त्रालय


काठमाण्डु – गृह मन्त्रालयले निर्वाचन केन्द्रित सुरक्षालाई मजबुत बनाइएको बताएकाे छ ।शुक्रवार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृह सचिव विनोद प्रकाश सिंहले   मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन स्वच्छ र भयरहित वातावरणमा गराउन गृहमन्त्रालय प्रतिबद्ध रहेको बताए।

उनले सुरक्षाका हिसाबले कुनै कमी नहुने भन्दै आवश्यक प्रबन्ध मिलाएको जानकारी दिए । त्यस क्रममा उनले हवाई र स्थल गस्ती हुने भन्दै त्यसको प्रबन्ध मिलाएको जानकारी दिए । कुनैपनि मतदान केन्द्रमा केही भए नेपाली सेनाको टोली बढीमा ३० मिनेटमा पुग्नसक्नेगरी व्यवस्था गरेको सचिव सिंहको भनाइ छ । उनले हवाई गस्तीका लागि नेपाली सेनाका हेलिकोप्टरका साथै निजी क्षेत्रका हेलिकोप्टर पनि तयारी अवस्थामा राखिएको जनाए ।

गृह मन्त्रालयले निर्वाचन विथोल्नसक्ने सम्भावित समूह र संगठन पहिचान गरेको र कतिपयलाई नियन्त्रणमा समेत लिएको जनाएको छ । ‘हिंसात्मक गतिविधि र क्रियाकलाप गर्ने व्यक्ति, समूह र संगठनलाई कानुनी दायरामा ल्याउने काम गरिरहेका छौं ।

कुनैपनि किसिमले मतदानलाई असर गर्ने, कर्मचारी, मतदाताको सुरक्षा, उम्मेदवार र मतदान सामग्रीको सुरक्षामा खतरा हुने कुरा सह्य हुनेछैन, त्यसलाई कडा रूपमा नियन्त्रण गरिन्छ’, गृहसचिव सिंहले जानकारी दिए ।

गृहले निर्वाचन विथोल्ने घोषणा गरेका विभिन्न समूहलाई निगरानीमा राखिएको स्पष्ट पारेको छ ।पत्रकार सम्मेलनमा नेपाली सेना बलाधिकृत रथी सरोजप्रताप राणा, प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालगायतको उपस्थित रहेकाे थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement