काठमाण्डु- गृह मन्त्रालयले ८ जना कर्मचारीलाई सरुवा गरेको छ । भिजिट भिसाको प्रकरण बाहिरिएसँगै मन्त्रालयले ८ कर्मचारीहरूको सरुवा गरेको हो ।
ती कर्मचारीहरूका विषयमा भिजिट भिसामा बदमासी गरेको उजुरी परेका थियो ।
यसअघि सरकारले विमानस्थलको अध्यागमनमा रहेका सहसचिव तीर्थराज भट्टराईलाई बुधबार गृहमन्त्री रमेश लेखकले सरुवा गरेर मन्त्रालय तानेका थिए । उनी मन्त्रालय तानिएको केही घण्टामै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन अधिकृत एवं सह सचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा पर्नुअघि गृहमन्त्री रमेश लेखकले उनको सरुवा गरेर मन्त्रालय तानेका थिए । भिजिट भिसामा शंकास्पद गतिवधि गरेका उनीसहित अन्य आठ जनाको सरुवा गरिएको छ ।
प्रेमप्रसाद पौडेल जिल्ला प्रशासन कार्यालय काठमाडौं, वीरभद्र जोशी जिल्ला प्रशासन कार्यालय काठमाडौँ तथा नरबहादुर थापा जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा भएका छन् । उनीहरू नायब सुब्बा पदमा कार्यरत थिए ।
सहायक कम्प्युटर अपरेटरमा कार्यरत कमला श्रेष्ठसहित कम्प्युटर अपरेटरहरू उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरुङ, र धनराज उपाध्यायलाई कारागार व्यवस्थापन विभाग वा त्यस अन्तर्गत हुनेगरी सरुवा गरिएको छ ।
गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सह सचिव छवि रिजालले आठ जनालाई सरुवा गरेका हुन् ।
प्रतिक्रिया