काठमाण्डु – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले अवैध रूपमा नेपालीलाई भिजिट भिसामा विदेश पठाउने गरेको प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई जोडेकोप्रति गृह मन्त्रालयले दुःख व्यक्त गरेको छ ।
गृह मन्त्रालयका सहसचिव छवि रिजालले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर आएका समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाएका छन् ।
‘यस्ता कुनै पनि गैरकानूनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौं । साथै विषयको गम्भीरतालाई मध्यनजर गरी सत्यतथ्य विषयवस्तु मात्र प्रकाशन र प्रसारण गरिदिन हुन सबैमा अनुरोध गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।
मुलुकमा शान्ति सुरक्षा, अमनचयन तथा सुशासन कायम गर्नका लागि गृह प्रशासन निरन्तर क्रियाशील रहेको मन्त्रालयले जनाएको छ । विज्ञप्तिमा उल्लेख छ, ‘अध्यागमन कार्यालयको काम कारवाहीको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको हुँदा अनुसन्धान कार्य पूरा भएपछि सत्यतथ्य व्यहोरा सबैको जानकारीमा आउने नै छ । आयोगबाट हुने छानबिन तथा अनुसन्धान सम्बन्धी कार्यमा मन्त्रालयको पूर्ण सहयोग रहने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ ।’
यसअघि शनिबार धनुषामा भएको कार्यक्रममा गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा नाम जोडिएबारे केही दिनमा आफूले पनि बोल्ने बताएका थिए । ‘२–४ दिनमा म आफैं पनि केही कुरा बोल्छु । त्यसकारण म अहिले धेरै बोल्दिनँ,’ उनले भनेका थिए, ‘मैले जीवनभर राजनीति गर्दा पार्टीका कुनै पनि साथीको मन सानो हुने र शिर निहुरिने काम गर्दिनँ, जुन दिन मेरो हातबाट गलत काम हुन्छ, त्यसै दिनदेखि म राजनीतिमा देखा पर्दिनँ ।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीहरूले घुस लिएर भिजिट भिसामा खाडी मुलुक पठाउने गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत अनुसन्धान गरिरहेको बेला गृहमन्त्री लेखक पनि विवादमा परेका छन् ।

प्रतिक्रिया