गृह मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकमा गृहमन्त्रीकाे निर्देशन ‘परिचालित होइन स्वचालित हुनुस’


काठमाडौँ- गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले गृह मन्त्रालय र सोअन्तर्गतका निकायका कर्मचारी तथा सुरक्षाकर्मीलाई परिचालित नभर्इ स्वचालित भएर काम गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा दोस्रो चौमासिक समीक्षा तथा गृह मन्त्रालयस्तरीय समस्या समाधान समितिको आजको बैठकमा गृहमन्त्री थापाले यस्ताे निर्देशन दिएका हुन् ।

उनले भने ‘निर्देशनपछि केही दिन स्वःफूर्तरुपमा कामका लागि परिचालित हुने फेरि निष्क्रिय हुने अहिलेको परिपाटि देखियो । अब परिचालित होइन, सधैँ सक्रिय भएर आफैँ स्वचालित भइराख्नुहोस् ।’  कर्मचारीसँग कार्यसम्पादन करार गरेर सोहीअनुसार काम गरे नगरेको आधारमा मूल्यांकन गर्ने पद्धतिको विकास गर्न लागिएको भन्दै उनले मन्त्रालयको जिम्मेवारीअनुसार शान्ति, सुरक्षा, सुव्यवस्था र सशासनका लागि प्रतिबद्ध भएर काम गर्न निर्देशन दिए ।

उनले आर्थिक मितव्ययिता कायम गर्न आग्रह गर्दै काम गर्न आवश्यक स्रोत र साधनको भने कमी हुन नदिइने स्ष्पट पारे ।  मन्त्रायलय अन्तर्गतका निकायको पूँजीगत खर्च बढाउनका लागि आवश्यक गृहकार्य गर्न पनि निर्देशन दिए ।

बैठकमा गृह मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, अध्यागमन विभाग, कारागार व्यवस्थापन विभाग र प्रहरी किताबखानाको चालु आवका २०७४/७५ को दोस्रो चौमासिकको प्रगति विवरण प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement