हङकङलाई लिएर बिग्रदै चीन-अमेरिका सम्बन्ध


एजेन्सी -अमेरिकाले हङकङलाई दिदैं आएको विशेष हैसियत खारेज गर्ने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङलाई प्रदान गरिएको विशेष हैसियतलाई अन्त्य गर्ने एक आदेशमा हस्ताक्षर गरेका छन् । यससंगै दुवै देशबीच थप तनाव बढ्ने निश्चित भएको छ । चीनले हङकङलाई लिएर नयां कानुन लागु गरेसंगै अमेरिकाको तर्फबाट यस्तो कडा कदम चालिएको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्प पछिल्लो समय चीनप्रति कडा अभिव्यक्ति दिंदै आएका छन् । उनले यसअघिका अमेरिकी राष्ट्रपति बाराक ओवामाको चीन नीतिको समेत कडा विरोध गर्दै आएका छन् । अमेरिकामा चुनाव नजिक आउंदै गर्दा ट्रम्पले चीनविरुद्ध कडा कदम चालिरहेका छन् ।

मंगलबार ह्वाइट हाउसमा संवाददाताहरूसंग कुरा गर्दै ट्रम्पले चीनले जुलाई एकबाट हङकङमा लागु गरेको नयां सुरक्षा कानुनका कारण अमेरिकाले यस्तो कदम चालेको बताए । उनले हङकङलाई अब चीनजस्तै व्यवहार अमेरिकाले गर्ने स्पष्ट पारे ।

ट्रम्पले हङकङमा मानव अधिकारको हनन गर्ने चिनियां अधिकारीलाई प्रतिबन्ध लगाउने एक विधयेकमा पनि हस्ताक्षर गरेको संवाददाताहरुलाई बताए ।

चीनले पनि केही अमेरिकी उच्च अधिकारीहरुलाई चीन प्रवेशमा प्रतिवन्ध लगाएको भोलीपल्ट अमेरिकाले यस्तो निर्णय गरेको हो । ट्रम्पले विश्व स्वास्थ्य संगठन चीनको कठपुतलि भएको भन्दै उसंगको सम्पुर्ण सम्बन्ध औपचारिक रुपमै तोडिसकेको छ ।

चीनले ल्याएको नयां सुरक्षा कानुनप्रति अमेरिकाले विरोध गर्दै आएको छ । चिनियां निर्णयसंगै अमेरिकाले  हङकङका नागरिकले पाउने केही विशेष अधिकारको अन्त्य गर्ने घोषणा यसअघि नै गरेको थियो ।

दुवै देशबीच पछिल्लो समय हङकङ,कोरोना भाइरस र साउथ चाइना सीबारे विवाद उत्कर्षमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement