अस्पतालको आईसियूमा औषधिको सट्टा भेटिए बियरका बोतल


एजेन्सी – भारतको उत्तर प्रदेशको राजधानी लखनऊमा सञ्चालित निजी अस्पतालहरुमा चरम लापरवाही रहेको पाइएको छ । लखनऊ जिल्ला प्रशासनले ४५ वटा निजी अस्पतालमा छापा मार्दा उक्त अस्पतालमा चरम लापरवाही रहेको पाइएको हो ।

अनुगमनका क्रममा कुनै अस्पतालमा बिरामी जाँच्ने डाक्टर थिएनन् भने कुनै अस्पतालको अपरेशन थिएटरमा औषधिको सट्टामा बियरका बोतल पाइएको छ । त्यस्तै अधिकांश अस्पतालहरु दर्ता बिनै सञ्चालित रहेको पाइएको छ ।

सोमबार स्वास्थ्य विभाग लखनऊ र जिल्ला प्रशासनको ६ वटा टोलीले छापा मार्दा धेरै जसो अस्पतालसँग लाइसेन्स नभेटिएको, कुनै लाइसेन्स म्याद गुज्रिएको, साथै एक अस्पतालमा बीएससी पास गर्नेले बिरामीको उपचार गराइरहेको पाइएको थियो ।

स्वास्थ्य सेवा विभागका अधिकारीहहरुले तुलसी एण्ड ट्रमा सेन्टरमा छापासमेत मारेको छ । यसक्रममा उक्त ट्रमा सेन्टरमा चार आईसियू बेड थिए । तर, डाक्टर थिएनन् । त्यस्तै त्यहाँ फ्रिजमा बियरका बोतल राखिएको पाइएको थियो । लाइसेन्सको म्याद पनि सकिएको अधिकारीहरूले जनाएका छन् ।

साथै  मोर्डन अस्पतालमा तीन वटा आईसियू बेड थिए । तर, एक्स–रे र आकस्मिक उपचार कक्षको व्यवस्थाससमेत थिएन । बिरामीको उपचार गर्नका लागि डाक्टर पनि थिएनन् । स्टाफ नर्ससँग नर्सिङको सर्टिफिकेटसमेत नभेटिएकाे अनुगमन अधिकारीहरूले जनाएका छन् ।

अर्को अस्पताल न्यू एशियन हस्पिटलमा पनि चिकित्सक नपाइएको अधिकारीहरुले जनाएका छन् । बिएसी डिग्रीधारी अस्पतालका सञ्चालक प्रेम कुमार वार्माले बिरामीको उपचार गराइरहेका थिए । लापरवाही गर्ने अस्पतालहरुलाई सचेत गराउँदै स्पष्टिकरण सोधिएको अधिकारीहरुले जनाएका छन् । चित्त बुझ्दो स्पष्टिकरण नआए थप कारबाही प्रक्रिया अगाडि बढाउने उनीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement