काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेडिकल कलेज तथा स्वास्थ्य संस्थाका नर्सिङ तथा स्वास्थ्य जनशक्तिको पारिश्रमिक कम्तीमा नेपाल सरकारसरह लागू गर्न निर्देशन दिएको छ ।
स्वास्थ्य मन्त्रालयका सचिव स्तरीय निर्णयबाट देशैभरका मेडिकल कलेज तथा स्वास्थ्य संस्थामा सरकारीसरह न्यूनतम पारिश्रमिक सुनिश्चित गर्न सरकारी प्रतिष्ठान तथा अस्पताल, निजी मेडिकल कलेज तथा सामुदायिक तथा निजी अस्पतालका नाममा पत्राचार गरिएको छ ।
पत्रमा न्यूनतम पारिश्रमिक तथा सुविधा नेपाल सरकार सरहभन्दा नघट्ने गरी लागू हुनुपर्ने उल्लेख छ । पत्रमा तोकिएकोभन्दा बढी काम गरेमा अतिरिक्त व्यवस्था लागू गर्न निर्देशन दिइएको छ ।
मन्त्रालयले करार गरेर मात्र जनशक्ति राख्न तथा ज्यालादारीमा काम गराउन नपाउने निर्णय गरेको छ ।
काम गरेकाहरूको सक्कल शैक्षिक लब्धांक पत्र राख्न नपाइने तथा अनुभवको प्रमाणपत्र दिनुपर्ने व्यवस्था गरी लागू गर्न मन्त्रालयले निर्देशन गरेको छ ।
मन्त्रालयले न्यूनतम पारिश्रमिक सुनिश्चितताका लागि नर्सिङ तथा स्वास्थ्य जनशक्तिलाई बैंकबाट मात्र पारिश्रमिक उपलब्ध गराउन पत्राचार गरेको छ । मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले मन्त्रालयले सबै सरकारी तथा मेडिकल कलेज तथा सामुदायिक र निजी अस्पतालमा निर्णय लागू गर्न पत्राचार गरेको र अनुगमन हुने जानकारी दिए ।
प्रतिक्रिया