काठमाण्डु – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सरकारी लगानीका सुरक्षा निकायद्वारा सञ्चालित अस्पतालसँग सहकार्य प्रस्ताव गरेका छन् ।
प्रहरी महानिरीक्षक तथा सैन्य अधिकारीसहित सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाका प्रमुखहरूसँगको बैठकका क्रममा मन्त्री पौडेलले सरकारी अस्पतालमा पालो कुर्नुपर्ने अवस्थामा सुरक्षा निकायका अस्पतालमा अपरेसन वार्ड खाली भएमा सेवा उपलब्ध गराउने गरी सहकार्य गर्न प्रस्ताव गरे ।
‘संघीय अस्पतालहरूमा सिफ्ट थप्ने तथा अतिरिक्त समयमा पनि काम गरेर बिरामीको चाप व्यवस्थापनमा काम भइरहेको छ,’ मन्त्री पौडेलले भने, ‘सरकारीमा चाप भएका बेला सुरक्षा निकायका अस्पतालमा रेफर गरेर कसरी उपचार दिन सकिन्छ, साथ दिनुहोला ।’
मन्त्री पौडेलले आमनागरिकका लागि खुला नभएका सेवा समेत अन्य सरकारीसरह सरकारी दररेटमा उपलब्ध गराउन सकिने गरी कसरी काम गर्न सकिन्छ भनेर समेत सुझाव माग गरे ।
मन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रम समेत सुरक्षा निकायका अस्पतालमा कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर सुझाव दिन समेत आग्रह गरे । मन्त्री पौडेलले गत हप्ता सुरक्षा निकायका अस्पतालसँग सहकार्य गरेर मन्त्रालयको उपचार सहायता पनि उपलब्ध गराउने तथा सरकारी अस्पतालमा भएको चाप व्यवस्थापनमा अपनाउन सकिने खाका तयार पार्न अतिरिक्त सचिव डा. टंक बारकोटीको नेतृत्वमा कार्यदल बनाएका थिए ।
यसै सन्दर्भमा उनले सुरक्षा निकायका अधिकारीसँग मन्त्रालयमा बैठक गरेका छन् । बैठकमा प्रहरी महानिरीक्षक वसन्त कुँवर तथा सेनाका उच्च अधिकारी सहभागी थिए ।
यसैबीच, मन्त्री पौडेलले नेपाली सेनाले आपतकालीन अवस्थाका गर्भवतीको सुत्केरी सेवाका लागि सेनाले थालेको उद्धारका लागि प्रशंसा गरे । ‘तपाईंहरूको उद्धारले धेरै सुत्केरी र बच्चाको ज्यान जोगिएको छ,’ उनले भने । मन्त्री पौडेलले आपतकालीन अवस्थामा अन्य नागरिकको उद्धारका लागि एयर एम्बुलेन्स नभएकाले त्यसका लागि सघाइदिन सेनासँग आग्रह गरे ।
‘एयर एम्बुलेन्सका लागि सेनासँग कसरी सहकार्य गर्न सकिन्छ, हामी खुला छौं,’ उनले भने, ‘यसबाट उपचार र उद्धार अभावमा अप्ठ्यारोमा परेकाको ज्यान बचाउन सकिन्छ कि भन्ने हाम्रो अभिप्राय हो ।’
मन्त्री पौडेलले तराईमा सर्पदंशको उपचारमा सेनाले सघाइरहेको भन्दै प्रशंसा पनि गरे । उनले सेनाको विज्ञता मन्त्रालयसँग पनि सहकार्य गर्न सक्ने ढाँचामा काम गर्न तयार रहेको बताए । ‘तपाईंहरूले सर्पदंशका धेरै बिरामीको उपचार गरिरहनुभएको छ,’ उनले भने, ‘हाम्रा जनशक्ति अभाव भएका स्थानमा सहकार्य गर्न सकिन्छ भने आवश्यक व्यवस्थाका लागि हामी तयार छौं ।’
प्रतिक्रिया