काठमाण्डु – भारतका अधिकांश राज्यहरूमा अत्यधिक गर्मी परिरहेको छ, जसका कारण मानिसहरूको अवस्था निकै दयनीय बनेको छ ।
यसबीच, आइतबार दिउँसो सार्वजनिक एक तथ्यांकले सबैलाई चकित बनाएको छ । हिन्दुस्तान टाइम्सकाअनुसार विश्वका सबैभन्दा तातो १०० शहरहरूको सूची सार्वजनिक भएको छ । यो तथ्यांकले धेरैलाई अचम्मित बनाएको छ । किनभने यस सूचीमा ९७ वटा शहर भारतका छन् ।
यी १०० शहर मध्ये ४० भन्दा बढी शहर उत्तर प्रदेशका मात्रै छन् । आइतबार दिउँसो छत्तीसगढको बिलासपुर भारतकै सबैभन्दा तातो शहर बनेको थियो, जहाँ तापक्रम ५० डिग्री सेल्सियस पुगेको थियो । भारतका अधिकांश शहरहरूमा ५० डिग्री सेल्सियस तापक्रमलाई सामान्य मानिएको छ ।
ओडिशाको बलांगीर, उत्तर प्रदेशका वाराणसी, मिर्जापुर, फतेहपुर, आजमगढ, जौनपुर र प्रयागराज छन्, जहाँको तापक्रम ४६ डिग्री सेल्सियस मापन गरिएको छ । विश्वका सबैभन्दा तातो शीर्ष १०० शहरमध्ये ९७ भारतका हुन् भने बाँकी तीन नेपालका पनि छन् । सुदूरपश्चिम प्रदेशको धनगढी, लुम्बिनी प्रदेशको नेपालगञ्ज र लुम्बिनी सांस्कृतिक अत्याधिक तातो शहर हुन् ।
धनगढी, नेपालगञ्ज र लुम्बिनी सांस्कृतिक क्रमशः २३, ३४ र ७६ औं स्थानमा छ ।
शीर्ष सबैभन्दा तातो शहरहरूको सूचीमा उत्तर प्रदेशको मुजफ्फरनगर, उत्तर प्रदेशकै अयोध्या, पञ्जाबको पटियाला, तेलंगानाको वारंगल र उत्तराखण्डको हरिद्वार छन् ।
राजस्थानको श्रीगंगानगर, मध्य प्रदेशको ग्वालियर, झारखण्डको धनबाद, चण्डीगढ, उत्तर प्रदेशको आगरा, राजस्थानको भरतपुर तथा मध्य प्रदेशको सिंगरौली छन् । विकासका नाममा भइरहेको वृक्ष कटान र ‘सुपर एल निनो’ ले भारतलाई तातो देश बनाइरहेको छ ।
भारत केवल तातिँदै मात्र छैन, संरचनागत रूपमा पोलिँदै गएको छ । र यसको पछाडि केवल जलवायु परिवर्तन मात्र होइन, नीतिगत प्राथमिकताहरू पनि जिम्मेवार रहेको वातावरणविद्हरू भन्छन् ।
भारतमा बढ्दो तापक्रम केवल मौसमी चरम अवस्था नभई मानव निर्मित ‘हिट इकोनोमी’ को संकेत भएको बताइन्छ ।
वैज्ञानिकहरूले यस वर्ष एल निनो लामो समयसम्म रहने चेतावनी दिइसकेका छन् । ‘सुपर एल निनो’ को सम्भावनासमेत व्यक्त गरिएको छ, जसले तापक्रम, खडेरी र चरम मौसमीय अवस्थालाई अझ बढाउन सक्छ ।
सन् १८७७ को खडेरी र १९९७–९८ को सुपर एल निनो यस्तै उदाहरण हुन्, जसमा प्राकृतिक घटनाले मानवीय संकटलाई धेरै गुणा बढाएको थियो ।
तर कथा यतिमै सकिँदैन । भारतमा ‘हिटवेभ’ अब केवल मौसमीय घटना नभई नीतिगत असफलताको परिणाम पनि बन्दै गएको छ ।
शहरहरूमा बढ्दो गर्मीलाई वैज्ञानिकहरूले ‘अर्बन हिट आइल्यान्ड इफेक्ट’ का रूपमा पहिचान गरेका छन् । कंक्रीटले गर्मी सोस्ने र पुनः उत्सर्जन गर्ने भएकाले शहरको तापक्रम आसपासका क्षेत्रभन्दा बढी हुने गर्छ । यही अवस्था अहिले भारतका धेरै शहरहरूमा देखिँदैछ ।




प्रतिक्रिया